कोरोना विरुद्धको लडाइँ : लाइट बन्द गरेर दियो बाल्न भारतीयहरुलाइ मोदीको आग्रह



काठमाडौ २१ चैत्र । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दियो बालेर कोरोना भाइरसको अन्धकारलाई चुनौती दिन आह्वान गरेका छन् ।

शुक्रबार विहान देशवासीका नाममा सम्बोधन गर्दै मोदीले १३० करोड भारतीयले आगामी आइतबार राती ९ बजे ९ मिनेट घरमै बसेर दियो जलाउन आह्वान गरेका हुन् ।

‘घरको सबै लाइट बन्द गरेर ढोका अथवा बाल्कोनीमा ममबत्ती, दिया, टर्च र मोबाइलको फ्ल्यास लाइट अनिवार्य बाल्नुस्,’ मोदीले भने, ‘सबै लाइट बन्द गरेर चारैतिर सबै व्यक्तिले दियो बाल्दा प्रकाशको महाशक्तिलाई महसुस हुनेछ कि हामी कोरोनासँग एकसाथ लडिरहेका छौं । हामी एक्लै छैनौं ।’

राजनीतिक विश्लेषकहरुले मोदीको आह्वानलाई सकारात्मकताका लागि उत्तम उपाय भएको टिप्पणी गरेका छन् । लकडाउनको निराशामा रहेका नागरिकलाई यसले सक्रिय बनाउने उनीहरुको भनाई छ ।

सम्बोधनका क्रममा मोदीले दियो बाल्दा घरमै बस्न र सामाजिक दुरीको लक्ष्मण रेखा ननाघ्न अनुरोध गरे । ‘महाशक्तिको जागरण गर्नुपर्छ । १३० करोड भारतीयको महासंकल्पलाई नयाँ उचाईंमा लैजाने छ,’ मोदीले भने । लकडाउनमा मानिसहरु घरमा एक्लै भए पनि १३० करोड भारतीयको महाशक्ति हरेकको साथमा रहेको उनको भनाई छ ।

यहीँ कोरोनाबाट बच्ने रामवाण भएको मोदीले बताए । ‘संकट यो घडीमा सबै एकसाथ उभिएर कोरोनालाई हराउ भारतलाई विजय गराउ,’ उनले आह्वान गरे ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्