कात्रोमा पनि कमिसन खाएको जनताको आरोप छ , के जवाफ दिने प्रधानमन्त्री ज्यु !
काठमाडौ , २१ चैत्र। स्वास्थ्य सामाग्री खरिदमा अनियमितताको चर्को आरोप लागेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल माथी कारबाही हुनुपर्ने माग जोडदार रुपमा उठिरहेको छ। विपक्षी दल मात्र होइन, स्वयं सत्तारूढ नेकपाका नेता कार्यकर्तादेखि सर्बसाधारण सम्म कमिसनको लोभमा मन्त्री ढ्काले कमशल स्वाथ्य सामाग्री खरिद गरेर जनताको जीउज्यानमाथी खेलवाड गरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन।अनियमिततामा संलग्न भएकै कारण सरकारले सामान आयातको जिम्मेवारी पाएको ओमनी समुहसंगको संझौता रद्द गरे पनि अख्तियारमा समेत उजुरी परिसकेका मन्त्री ढकालमाथी कारबाही हुनेमा धेरैको आशंका छ। देश र जनता महामारीको चर्को बिपत्तिमा रंहदा समेत सरकार अनियमिततामा संलग्न भएको आरोप लाग्नु सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओली र उनको दल नेकपाका लागी पनि फाइदाजनक बिषय होईन ।प्रधानमन्त्री ओलिको पछिल्लो मौनताले विपक्षी दलहरूलाई सरकारविरुद्ध जनमत सृजना गर्न सहज बन्दै गएको विश्लेषण भैरहेको छ। यहि सन्दर्भ कांग्रेस प्रबक्ता बिश्व प्रकाश शर्माले प्रधानमन्त्री ओलीका नाम चार पृष्ठ लामो पत्र समेत लेखेका छ्न्।शर्माले प्रधानमन्त्रीलाई लेखेको सो पत्रमा सरकारले कात्रोमा पनि कमिसन को खेती गरिरहेको गम्भीर आरोप लगाइएको छ।
यस्तो छ कांग्रेस प्रबक्ता शर्माले प्रधानमन्त्री ओलिलाइ लेखेको पत्र

सम्माननीय प्रधानमन्त्रीज्यू,
सर्वप्रथम यहाँको उच्च मनोबलको प्रशंसा गर्दै शीघ्र स्वास्थ्यलाभ कामना गर्दछुl
विश्वव्यापी रूपमा फैलिएको कोरोनाको जोखिमसँग जुध्न यतिबेला अन्य सबै राजनीतिक विमती थाती राखेर हामी यहाँको साथमा उभिएका छौं र `सरकारमा सँगै नरहेर पनि सँगै लड्न सकिन्छ´ भन्ने संस्कार साथ यो संकटको घडी सरकारलाई साथ दिन सबै दल, संस्था र समुदायलाई अपिल गरिरहेका छौंl
प्रतिपक्षले सरकारलाई साथ दिनु भनेको म प्रस्ट्याउन चाहन्छु। ढिलासुस्ती, लापरबाही,अनियमितता र भ्रष्टाचारलाई पनि समर्थन गर्नु चाहीँ होइनl बरु सबै कमजोरीबारे प्रश्न उठाएर, तिनको निदान खोज्न घच्घच्याएर फेरि पनि सघाउनु संकटमुक्ति प्रतिको इमानदारीता होl
हाम्रो आग्रह छ यो प्रकरणमा चीनको सफलता एवं इटाली र स्पेनको भयावह स्थितिबाट गहिरो शिक्षा लिऊँl हामी थप चुक्यौं भने भीषण स्थिति ब्यहोर्नेछौं, सही ढंगले जुट्यौं भने नेपाल र नेपालीको रक्षा गर्न समर्थ हुनेछौंl थोकमा मृत्यु हेर्ने कि एकएकलाई जोगाउने? यो यक्ष प्रश्न इतिहासकै सबैभन्दा गम्भीर प्रश्न बन्न पुगेको छl
प्रधानमन्त्रीज्यू,
उपप्रधानमन्त्रीको नेतृत्वमा जारी अभियानले यथाशक्य प्रयत्न निश्चय नै गरिरहेको छl हामी त्यसलाई प्रोत्साहित गरिरहेकै छौं तर यस्तो संकटको घडी हरेक कदमको समिक्षा हरेक दिन गर्न एवं विज्ञ र आफू बाहिरको मत निरन्तर आत्मसात गर्न अत्यावश्यक हुन्छl हाम्रो आग्रह छ लकडाउनको दोस्रो चरणको यो घडी हालसम्मको प्रगति र कमजोरीको वस्तुनिस्ठ समिक्षा गरौं, कमजोरी अन्त्य गरौं र अब पछिल्लो कदम निकै व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाऔंl यो संक्षिप्त पत्रमा पृष्ठभुमिदेखि समग्र विश्लेषणमा म जान चाहन्नl तत्कालीन परिस्थिति, प्रश्न र चुनौतीबारे आम नेपालीको भावना प्रतिनिधित्व गर्दै प्रमुख प्रतिपक्षी दलका तर्फबाट यहाँको ध्यानाकर्षण गराउन चाहन्छुl
समिक्षा १. परीक्षण र उपचारमा गम्भीर लापरबाही
१. परीक्षण र परीक्षणका लागि विश्व स्वास्थ्य संगठनले जोड दिएको छl तर अझैपनि ७ प्रदेशको कम्तिमा ७ ठाउँमा परीक्षण गर्न सक्नेगरी क्षमता विस्तार गरिएको छैनl संक्रमण फैलनबाट रोक्न परीक्षणको व्यापक दायरा विस्तार गर्नैपर्ने विषयमा यतिका समयसम्म प्रगति नहुनुलाई गम्भीरतापूर्वक लिएर प्रदेश हुँदै सबै जिल्लामा विस्तार गर्न यहाँबाट तत्काल परिणाममुखी पहलको अपेक्षा छl
२. हालसम्म पाँच नेपालीमा कोरोना संक्रमण देखिएको मध्ये एक स्वस्थ भएर फर्किए भने चार उपचाररत छन्l तर उनीहरुको परिवारका सदस्यको परीक्षण गर्न सरकारको सम्बन्धित निकायले थाहा छैन कुन साइतको प्रतीक्षा गरेको छl उनीहरुसँगै हवाई या सडक यात्रा या घुलमिल गरेका अन्य नागरिकको खोजविन शुरु गरियो तर परीक्षणको दायरामा ल्याइएको छैनl समुदायमा कोरोना फैलन छुट दिएझैं स्थिति हो योl यहाँको जानकारीमा यो विषयको गम्भीरता पुगेको छ कि छैन?
३. यसबीचमा उपत्यका र बाहिरका अस्पतालमा केही बिरामीमा कोरोना आशंका गरियो, मृत्यु पश्चातमात्रै परीक्षणको रिपोर्ट आयोl बुटवलको एक अस्पतालमा लास उठेन,विराटनगरमा अस्पताल दौडाउँदा दौडाउँदै एक महिलाको मृत्यु भयोl कोरोना बाहेक अन्य रोगले पनि मृत्यु हुन्छ, तर सुरक्षित रुपले परीक्षण गर्न पिपीई नपाउँदा कयौं ठाउँमा कोरोनाको सन्त्रासले बिरामी हेर्न स्वास्थकर्मी हच्केका छन्l प्रधानमन्त्रीकै जिल्लामा चार वर्षे बालकको ज्वरो जचाउँन जाँदा एक अस्पतालको गेटबाटै अभिभावक फर्काइएl यस्तो स्थिति समाधान गर्न यहाँको ध्यान तत्काल जान जरुरी भएको छl
४. यसबीचमा विदेशबाट जति नेपाली आए, तीमध्ये थोरै मात्र क्वारेन्टाइनमा छन्। बाँकी कहाँ छन्‚ सरकारसँग तथ्यांकसम्म छैनl क्वारेन्टाइन, परीक्षण र उपचारको व्यवस्थित कार्ययोजना कठोरतापूर्वक कार्यान्वयन गरेर समुदायलाई आश्वस्त राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदछुl
समिक्षा २. लज्जास्पद अभाव र अनियमितताको प्रश्न !
५. कोरोना भाइरस प्राणघातक रहेको सूचना विश्वव्यापी भएको चार महिना पुगिसक्दा पनि पिपिई, परीक्षण कीट, भेन्टिलेटरलगायत अत्यावश्यक सामग्रीको पर्याप्त जोहो नगरिनु सरकारको गैह्रजिम्मेवारी थियोl यो प्रकरणको चार गल्ती क्रमशः स्मरण गराउन चाहन्छुl
क) समयमै सामग्री आयातको योजना, तयारी र प्रक्रिया नथाल्नुl
ख) लकडाउनमा पुगेपछि आकस्मिक रुपले खरिद योजना बनाउँदा आवश्यक पारदर्शी प्रक्रिया अवलम्बन नगरिनुl
ग) बजार मूल्यभन्दा अत्यधिक रकम निकासा गराएर राज्यकोषको दुरुपयोग गरिनुl
घ) विश्व स्वास्थ संगठनको मापदण्ड बाहिरका कतिपय कमसल सामग्री खरिद गरिनुl
सम्माननीय प्रधानमन्त्रीज्यु, हामी यतिबेला यहाँको नेतृत्वमा आजको संकटबाट पार पाउन हर संभव साथ दिन तत्पर रहेका छौंl सरकार, प्रतिपक्ष र सबै दल संकटको बेला एक ठाउँमा उभिनु भनेको राजनीतिप्रति नागरिकको असन्तोषलाई न्यून गर्ने अवसर पनि होl तर नागरिक पंक्तिबाट जब `कात्रोमा पनि कमिसन?´ भनेर प्रश्न आउँछ, तब हामी नाजवाफ बन्छौंl प्रधानमन्त्रीज्यूसमक्ष दुई विकल्प रहेको म सुझाउन चाहन्छुl एक, ढाकछोप गर्ने र त्यसको छिटा व्यहोर्ने, दुई सिंगो देशको आग्रह सुनेर निश्चित आरोपीहरुलाई पदमुक्त गर्दै अनुसन्धानलाई सघाउनेl
समिक्षा ३. राहत अपर्याप्त, प्याकेजमा उदार बनौं !
६. सरकारले ल्याएको राहतको प्याकेजलाई सकारात्मक रूपमा लिँदै त्यो अपर्याप्त रहेको ध्यानाकर्षण हामीले गरिसकेका छौंl प्रधानमन्त्रीज्यू हरेक वर्ष असार मसान्तमा हामीले फ्रीज हुन लागेको बजेट कनिकाझैं छर्ने गरेका छौं, यसपाली त्यो नछरौंl अहिले नागरिक जोगाऔं, पछि पुल हालौंला, बाटो बनाऔंलाl ज्यालादारी श्रमिककोमा राहत पुर्याउने तीव्रतामा ध्यान पुगोस्l रोजगार कार्यक्रमका नाममा अघिल्लो वर्ष पानी बगायौं हामीले, अहिले बेरोजगार एवं शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई राहतको योजनातर्फ त्यो कार्यक्रमलाई किन नमोड्ने?
७. तेहेर्याउन चाहन्छौं व्यवसायीहरुको बैंक ब्याज घटाएर राहत अनुभुती गराउन सरकार किन गम्भीर नभएको? प्रधानमन्त्रीज्यूको निर्देशन सम्बन्धित मन्त्रालयलाई जाओस्l
२० लाखसम्म ऋण लिएका साना व्यवसायिको हकमा ३ महिनासम्मको ब्याज समेत मिनाहा गरियोस्l आज यिनलाई जोगाए भोलिको अर्थतन्त्र यिनैले उठाउने छन् प्रधानमन्त्रीज्यूl
८. छापा माध्यम क्रमशः बन्द हुँदैछन्, व्यवसाय चौपट भएपछि रेडियो, टिभी र अनलाइन पनि विज्ञापन न्युनता हुँदै शुन्यताको मारमा पर्नेछन्l श्रमजीवी पत्रकारको चुल्हो क्रमशः लक्ड हुन सक्छ लकडाउन लम्बिएl राज्यको चौथो अंगलाई बचाउन लोकतान्त्रिक संविधान भएको मुलुकमा गम्भीर ध्यान पुग्नुपर्यो प्रधानमन्त्रीज्युl अनि काठमाण्डौं प्रेसमाथी प्रधानमन्त्रीकै निकटटस्थको साइबर अपराधलार्इ अनुसन्धान र कारबाहीको दायरामा सुम्पन जरूरी आग्रह म यसैमा गाँस्न चाहन्छु।
समिक्षा ४. नेपाली डायस्पोराबारे सोचौं
९. नेपाल बाहिरपनि अर्को नेपाल छ प्रधानमन्त्रीज्यु, चालिस लाखको संख्यामा फैलिएकोl हिजो निरन्तर रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र जोगाउने त्यो डायस्पोरालाई आज देशै संकटमा छ भनेर भुल्न मिल्दैनl
क) अरु देशले आफ्ना नागरिक लगे र लगिरहेका छन् नेपालबाटl परदेशबाट घर फर्कन हाम्रा जो चाहन्छन्‚ तिनलाई देशले ल्याउन सक्दिन भन्नुहुन्नl सोचौं, परामर्श गरौं र धैर्यसाथ आवश्यक निर्णयमा पुगौंl
ख) सिमानामा आइपुगेर नारा लगाइरहेका अनुहार हेर्नोस् प्रधानमन्त्रीज्यू उनीहरु हिजो मत दिन आएका थिए, तपाईंलाई प्रधानमन्त्री बनाएर फर्किएका थिए, दशैंमा आउन कतिले सकेनन्, कोरोना संकटमा आउँदा देश छिर्न सकेनन्l अलिअघिसम्म हजारौंलाई अव्यवस्थित ढंगले प्रवेश गराएका थियौं, आज सानो संख्यामा सिमानामा आइपुगेका नेपालीलाई व्यवस्थित रुपले प्रवेश गराउने दायित्व देशको होl संकटमा परदेशीलाई त सेवा पुर्याउनुपर्छ भने संकटमा आफ्नो देशमा शरण नपाउनुभन्दा ठूलो अन्याय के हुन सक्दछ? अत्यन्तै कारुणिक यो यथार्थप्रति प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराउँदछुl
हामी फेरिपनि यो संकटमा यहाँको साथमा छौं, दृढ ढंगले परिस्थितिको नेतृत्व गर्न यहाँलाई प्रतिपक्षी दलको हरसम्भव साथ र सहयोग रहनेछl जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना ,संचार तथा प्रचार विभाग