कोरोना कोषलाई अध्यक्ष कार्कीद्धारा ७ लाखको चेक हस्तान्तरण
काठमाडौ, २० चैत्र । नेपाल फ्रेट फरवार्डस एसोसिएसनका अध्यक्ष प्रकाश सिंह कार्कीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषलाई ७ लाख ६ हजार एक सय एक रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ। अध्यक्ष कार्कीले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित एक बिशेष कार्यक्रममा सो रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको हो।
हस्तान्तरण गरिएको सो रकम सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुबाट संकलन गरिएको एसोसिएसनले जनाएको छ। एसोसियसनका अनुसार सहयोग हस्तान्तरणका कार्यक्रममा एशोसियसनका तर्फबाट द्धितीय उपाध्यक्ष राजेन्द्र सँग्रोैला, महासचिव सुन्दरप्रसाद दाहाल र कोषाध्यक्ष नरेशकुमार अग्रवाल लगायतको उपस्थिति रहेको थियो । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड-१९) विरुद्ध सरकारले चालेको कदमलाई सफल बनाउनु हरेक नागरिकको दायित्व भएको बताउंदै अध्यक्ष कार्कीले कोरोना भाइरस विरुद्धको लडाइँमा हामी सरकारको साथमा छौं भन्ने संकेतका रुपमा एसोसिएसनले यो सहयोग उपलब्ध गराएको रहस्य खबरलाई बताउनुेभयो ।
राजनीतिक आग्रह र पुर्बाग्रह भन्दा माथि उठेर साझा चुनौतीका रुपमा देखा परेको कोराना महामारी विरुद्धको लडाइँमा सबैको हातेमालो आवश्यक रहेको उहाँको भनाइ थियो। नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य समेत रहनुभएका कार्कीले लकडाउनका कारण जिल्लाबासीलाइ कुनै समस्या उत्पन्न भए त्यसको सक्दो समाधानका लागि आफू ब्यक्तिगत रुपमा तयार रहेको घोषणा यसअघिनै गर्नुभएको थियो। कार्कीको गृहजिल्ला सोलुखुम्बु हो।पछिल्लो समय उहाँ जिल्लामा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुँदै समाजसेवाको कार्यमा पनि निरन्तर लागिरहनुभएको छ।