कोरोना रोकथामका लागि राष्ट्रिय वाणिज्य बैंकको डेढ करोड सहयोग
काठमाडौ १९ चैत्र । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विश्वव्यापी महामारी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को सङ्क्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि उक्त सहयोग गरेको हो। बैंकले उक्त रकम कोषको खातामा जम्मा गरिसकेको जानकारी दिएको छ।
बैंकले लकडाउनको अवस्थामा पनि आफ्ना ग्राहकलाई देशव्यापी एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स, क्लियरिङ, एलसीलगायत बैंकिङ सेवा प्रदान गरिररहेको छ। बैंकले २०७७ असार मसान्तसम्मका लागि जुनसुकै बैंकको एटिएम कार्ड प्रयोग गर्दा ग्राहकलाई शुल्क नलाग्ने, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ आदिमासमेत शुल्क नलाग्ने व्यवस्था गरेको जनाएको छ।
सातवटै प्रदेश सरकारद्वारा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि रकम जम्मा गर्न राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयहरूमा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष खाता खोलेका छन्। यी खाताहरूमा कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायत विद्युतीय माध्यमबाट पनि रकम जम्मा गर्न सकिने बैंकले प्रस्ट पारेको छ।