कोरोनाविरूद्ध लड्न खेलाडी नोभाक जोकोभिच र जेलेनाको १० लाख युरो सहयोग



काठमाडौ १५ चैत्र । नोभाक जोकोभिच र उनकी पत्नी जेलेना यान्कोभिचले कोरोना भाइरसविरुद्धको अभियानका लागि स्वास्थ्य सामाग्री खरिद गर्न १० लाख युरो सहयोग गरेका छन्। कोरोना भाइरसको संक्रमणले विश्वव्यापी प्रभाव पार्न थालेपछि केही सातायता खेलकुदका सबै गतिविधि स्थगनमा छन्। टेनिसमा एटिपी टुरलगायतका सबै प्रतियोगिता जुनसम्मका लागि स्थगित गरिएका छन्।

ग्राण्ड स्लाममा पनि फ्रेन्च ओपन सेप्टेम्बरका लागि सारिएको छ भने विम्बल्डनमा आयोजकहरुले आउँदो साता नयाँ मिति घोषणा गर्ने अपेक्षा गरिएको छ। विश्व खेलकुदको सबभन्दा ठूलो मेला ओलम्पिक पनि पहिलोपटक यसपालि स्थगित गरिएको छ। प्रत्येक चार वर्षमा हुने ओलम्पिक यसपालि जुनको अन्त्यमा जापानको टोकियोमा हुने तय भए पनि कोरोना भाइरसका कारण एक वर्षका लागि सारिएको छ।

विश्वव्यापी रुपमा झण्डै ६ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भइसक्दा २७ हजारभन्दा बढीको यो भाइरसले ज्यान लिइसकेको छ।

‘दुर्भाग्यवस धेरै मानिसहरु यो भाइरसबाट संक्रमित भएका छन्। अहिले पनि प्रत्येक दिन ठूलो संख्यामा मानिसहरु यसबाट पीडित भइरहेका छन्। म यो अस्तव्यस्त र त्रासदीपूर्ण समयमा भाइरसबाट पीडितहरुको सेवामा खटिने विश्वभरका सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिन चाहन्छु,’ १७ पटकका ग्राण्ड स्लाम विजेता जोकोभिचले एक भिडियो कन्फरेन्समा भने, ‘मेरी श्रीमती जेलेना र मैले संयुक्त रुपमा यो महामारीबाट मुक्ति पाउने अभियानका लागि स्वास्थ्य सामाग्री खरिद गर्न १० लाख युरो सहयोग गरेका छौं।’

जोकोभिचले गत साता ट्विट गर्दै ‘पृथ्वी आमा अस्वस्थ’ रहेको बेला सबै विश्व नागरिक एक भएर कोरोना भाइरसविरुद्धको अभियानमा लाग्न आह्वान गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्