थुलुङ दुधकोसी गांउपालिकाको अनुकरणीय निर्णय



सोलुखुम्बु , १४ चैत्र। जिल्लाको थुलुङ दुधकोसी गाउँपालिकाले गांउका अति बिपन्न परिवारलाइ राहत बितरण गर्ने भएको छ। कोरोना भाइरसका कारण सेल्फ क्वारेन्टाइनमा बस्नुपरेपछि दैनिक ज्यालादारी गरेर हातमुख जोर्नुपर्ने अवस्थामा रहेका बिपन्न परिवारलाई राहत स्वरुप एक बोरा चामल , ५ किलो दाल, १ लिटर तेल र एक पोको नुन बितरण गर्न लागिएको अध्यक्ष अशिम राइले जानकारी दिए। विहिबार बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले पालिका भित्र बसोबास रहेका सुकुम्बासी , अति बिपन्न र दैनिक ज्यालादारी गरेर जीवन निर्बाह गर्दै आएका नागरिकलाई सो राहत उपलब्ध गराउने निर्णय गरेको जानकारी दिंदै अध्यक्ष राइले गाउँ कार्यपालिका सदस्यहरूको एक महिनाको सुबिधाबापत प्राप्त हुने रकमबाट सो कार्यक्रम सन्चालन गर्न लागिएको बताए । अध्यक्ष राइका अनुसार अपुग रकम पालिकाको आकस्मिक कोषबाट परिपुर्ति गरिने छ। सो गाउँपालिकाले यस अघि नै ५ लाखको आपतकालीन कोष स्थापना गरेको यश अघि नै जनाएको थियो।


गांउकार्यपालिकाले गरेको निर्णय अनुसार राहत प्राप्त गर्न चाहने बिपन्न परिवारले सम्बन्धित वडा कार्यालयमा निबेदन दिनुपर्ने बताइएको छ।प्राप्त निवेदनमाथी वडाध्यक्षको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले आवश्यक छानबिन गर्ने र त्यसैको सिफारिसमा गांउपालिकाले राहत उपलब्ध गराउने निर्णय भएको प्रशासकीय अधिकृत अबि राइले रहस्यखबरलाइ बताए।
बिश्वब्यापी महामारीको रुपमा देखापरेको कोरोना भाइरसको जोखिम कम गर्न नेपाल सरकारले २१ चैत्रसम्मका लागि लकडाउन घोषणा गरेपछि बिपन्न परिवारलाई सरकारले राहत प्याकेजको घोषणा गर्नुपर्ने आवाज जोडदार ढंगले उठिरहेका बेला थुलुङ दुधकोसी गाउँ पालिकाले गरेको यो निर्णयबाट संघ र प्रदेशले पनि पाठ सिक्नु पर्ने स्थानीय बुद्धिजीवीहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्