धादिङमा कृषकले ५० रुपैयाँमा बेचेको काउली काठमाडौंमा १ सय ५० पर्ने संस्कारको अन्त्य गर्ने मन्त्री भुसालको उद्घोष



काठमाडौं । कृषि तथा पशुपंक्षि विकासमन्त्री घनश्याम भुसालले हरेक किसानलाई ५ प्रतिशत व्याज नबढ्ने गरी कृषि ऋणको व्यवस्था गर्ने घोषणा गर्नु भएको छ । मन्त्रालय सम्हालेको ४ महिना पुरा भएकै दिन पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री भुसालले सो घोषणा गर्नु भएको हो । बुधवार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयको आगामी दिशा प्रस्तुत गर्दै मन्त्री भूसालले ५ बुँदे कृषि उत्पादन व्यवस्थाका आधारसमेत प्रस्तुत गर्नु भएको थियो ।
यस अघिको अनुदान प्रणालीमा सुधार गरी सबै किसानले पाउने गरी मल, विउ, सिचाइ र विजुलीमा अनुदान दिने बताउँदै मन्त्री भूसालले धादिङमा कृषकले ५० रुपैयाँमा बेचेको काउली काठमाडौंमा एक सय पचास पर्ने संस्कारको अन्त्य गर्ने उद्घोषसमेत गर्नुभयो । आफूले गरेको घोषणा आफ्नै लागि बन्धन भएको बताउँदै मन्त्री भूसालले पत्रकार सम्मेलनमा भन्नुभयो–‘दलाल पूँजीवाद कृषिमा छयापछयाप्ती छ, हाम्रो पाँच नीतिले यसलाई धक्का दिन्छ, मेरो प्रमुख ध्येय त्यही हो । सबै किसानले प्रविधिक सेवा पाउने ग्यारेन्टी गर्ने र स्थानीय तहमा कृषि तथा पशु प्रविधिको खाली दरबन्दीमा तत्काल पद पूर्ति गर्ने आफ्नो योजना रहेको समेत बताउनु भएको थियो । उहाँले किसानलाई न्यूनतम बचत हुने कृषि उत्पादन व्यवस्थातर्फ पहलकदमी लिनुपर्छ भन्ने निश्किर्षमा मन्त्रालय पुगेको बताउँदै उहाँले कृषि बालीमा नाफा हुने गरी मूल्य तोक्ने र किसानले बजारमा न्यूनतम मूल्य नपाए सरकारले खरीद गर्ने व्यवस्था मिलाइने प्रतिबद्धतासमेत पत्रकार सम्मेलनमा जनाउनु भएको थियो ।
यस्ता छन् मन्त्री भुसालका पाँच योजना
१. उत्पादन सामग्रीमा अनुदान स् हामीले दिँदै आएको व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानका सट्टामा सबैले पाउने गरी बिउ, सिँचाई, मल, बजिुली जस्ता उत्पादनका मुख्य सामग्रीहरुमा अनुदान केन्द्रीत गरिने छ । तिनलाई सर्वसुलभ बनाइनेछ ।
२. सबै किसानको घरदैलोमा प्राविधिक सेवा–टेवा स् हरेक किसानले प्राविधिक सेवा पाउने कुराको ग्यारेन्टी दिइनेछ । स्थानीय तहमा करिब आठ हजार कृषि तथा पशु सेवातर्फका प्राविधिक जनशक्तिको दरबन्दी रहेकोमा स्थानीय तहसँग समन्वय गरी अहिले रिक्त रहेका करिब ६ हजार दरबन्दीमा अविलम्ब पदपूर्ति गरिने छ ।
३. सस्तो र सुलभ ऋण स् सस्तो ब्याजदरको ऋणमा वास्तविक किसानको पहुँच ग्यारेन्टी नभएको अहिलेको अवस्थालाई अन्त्य गरिनेछ र हरेक किसानलाई ५ प्रतिशत नबढ्ने गरी सस्तो ब्याजमा सुलभ ऋणको प्रत्याभूति गरिनेछ ।
४. बाली तथा पशुपन्छि बीमा, कृषि तथा पशुपछिं बिमा कार्यक्रमलाई सहज र सस्तोमा किसानको पहुँचमा पुर्याउने ग्यारेन्टी गरिने छ । प्राकृतिक प्रकोप र अन्य भवितव्यबाट कृषि बालि वस्तुको हानी नोक्सानीबाट किसानलाई सुरक्षित गरिनेछ ।
५. न्यूनतम बचतको ग्यारेन्टी स् किसानले उत्पादन गर्ने मुख्य बालि बस्तुको उत्पादन लागतको मूल्याकंन गरेर उचित बचतको ग्यारेन्टीइ हुने गरी न्यूनतम समर्थन मूल्य तोकिने छ । किसानले आफ्नो उत्पादन सरकारले तोकेभन्दा बढी मूल्यमा बजारमा बेच्न सक्नेछन तर बजारमा न्यूनतम मूल्य पनि नपाएमा खरिद गर्ने व्यवस्था सरकारले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्