कोरोनाका कारण वैदेशिक रोजगारी ठप्प
काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसका कारण वैदेशिक रोजगारी ठप्प हुन पुगेको छ । विश्वका कतिपय मुलुकले स्वीकृत प्रवेषाज्ञा समेत धमाधम रद्ध गरिरहेका बेला अर्थतन्त्रको मूल स्रोत नै रेमिट्यान्सले धान्दै आएको नेपालजस्ता मुलुकहरु बढी प्रभावित हुन थालेका छन् । वैदेशिक रोजगारीलाई जीविकोपार्जनको स्रोत बनाउँदै आएका नेपाली युवाहरु अब केही समय विदेशिन नपाउने भएका छन् । सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको श्रम स्वीकृति पूरै बन्द गरेपछि उडानका लागि राजधानी आएकाहरु समेत फर्कन बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृति बन्द गरिएको बताए । वैदेशिक रोजगार कार्यालयले श्रम स्वीकृति स्थगन गरिएको भन्दै सूचना जारी गरेको छ । सूचनामा भनिएको छ, ‘‘कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयअनुसार श्रम स्वीकृति स्थगन गरिएको जनाएको छ । ‘अर्को सूचना जारी नभएसम्म वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरिएको’ कार्यालयले जनाएको छ ।
यसअघि कतारको श्रम स्वीकृति दिन बन्द गरिएको थियो । कतार सरकारले नेपालीलाई कतार जान रोक लगाएपछि सरकारले श्रम स्वीकृति दिन बन्द गरेको थियो । अब नेपाली रोजगारीका लागि कुनै पनि मुलुकमा जान श्रम स्वीकृति तत्काल पाउने छैनन् । यसको प्रत्यक्ष असर रेमिट्यान्स आयमा पर्नेछ । कतार, मलेसिया, युएइ, साउदी अरब, कुबेत, जापान, बहराइन, दक्षिण कोरियालगायत नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक हुन् ।
