बालबालिकाले रंग र लोला हाने अभिभावकलाई कार्बाही !



काठमाडौं । कोरोना भाइरसका कारण भिडभाड हुने कार्यक्रम नगर्न विज्ञप्ति नै निकालेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणलाई आग्रह गरेको केही दिन बित्न नपाउँदै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले यस वर्षको होली पर्वमा पानी रङ नछ्याप्न सबैसँग आग्रह गरेको छ । पहाडमा सोमवार र मधेशमा मंगलबार परेको होली पर्वमा कोरोनाको संत्रासले लोला हान्ने रंग दल्ने, भिडभाड गर्ने सांगितिक कार्यक्रम गर्ने काम नगर्न सरकारले आग्रह गरिरहेका बेला उपत्यकालाई लक्षितगरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले होली विशेष सुरक्षा योजना अन्तर्गत करिव २५ सय प्रहरी भीडभाड हुने संभावित स्थानमा परिचालन गरिने जानकारी दिए । उनले भने, ‘विश्वभर कोरोनाको संक्रमण फैलिहेको अवस्थामा नेपालमा यसको संक्रमणलाई रोक्न भीडभाड नगर्न आग्रह गरेका छौ, यदी अवज्ञा गर्ने र जवर्जस्ती रङ, पानी हालेमा पक्राउ गरी अभद्र ब्यावहारमा मुद्दा चलाउँछौं ।’

त्यस्तै इच्छा विपरीत बालबालिकाले घरको छतबाट पानी छ्याप्ने, लोला हान्ने र रंग फाल्ने गरेको पाइएमा अभिभावकलाई कार्बाही हुने महानगरीय प्रहरी कार्यलयले जनाएको छ । बालबालिकाले दुव्र्यवहार गरे अभिवाभकलाई अभद्र ब्यावहारमा मुद्दा चलाइने डिआइजी पोखरेलले बताए ।
प्रहरीले जवर्जस्ती लोला, रङ हानेको उजुरी आउनासाथ तत्काल घटना स्थलमा पुग्नेगरी टोलि तयार राखेको छ । यसबाहेक सिसीटीभी क्यामराबाट निरन्तर निगरानी गर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्