मृगौलापीडित वाईबाद्वारा सहयोगको याचना



काठमाडौं । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका वडा नं. ५ शिखरपुर निवासी जसमान वाईबा जीवनमरणको दोसाँधमा छन् । चक्रबहादुर वाईबा र छिछल्ला माया वाईबाको ज्येष्ठ सुपुत्र वाईबा दुईवटै मृगौलाले काम गर्न छोडेपछि जीवन मरणको दोसाँधमा पुगेका हुन् । झण्डै चार वर्ष यतादेखि डायलासिस गराइरहेका उनी त्यसका लागि पनि खर्चको अभाव हुन थालेपछि आफूलाई बचाइदिन आग्रह गर्दै सहयोगको याचना गर्न थालेका छन् ।
देश र समाजका लागि केही योगदान गर्नुपर्ने यो कल्कलाउँदो उमेरमा जीवन रक्षाको भीख मागेर भौतारिनुपर्दा आफ्नै जीवनसँग दिग्दार लाग्न थालेको वाईबाले बताए । तामाङ कथानक चलचित्र “ख्लासी अनिउँ”की नायिका इन्दिरा वाईबाका साथमा रहस्य खबरको कार्यालयमा आइपुगेका वाईबाले भने– “दाताहरुले सहयोग गरे मिर्गौला फेरेर अझै केही गर्ने थिएँ ।” भएको सारा सम्पत्ति आफ्नो उपचारका क्रममा सकिएको बताउँदै उनले कसैको सहयोग नपाए अब डायलासिस गर्न सक्ने अवस्था समेत नरहेको बताए । परवारमा नौजना सदस्य छन्, ऋणका कारण भएको एउटा घर पनि बेच्नु पर्ने बाध्यता आइसक्यो, अब मैले कसरी उपचार गर्नु ? वाईबाले भने ।
ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा हप्ताको एकपटक दुवै मृगौलाको डायलासिस गराइरहेका उनले आफ्नो जीवनरक्षाका लागि सहयोग गरिदिन सबैसँग अपिल गरेका छन् । नायिका तथा नेपाल तरुण दलकी केन्द्रीय महाधिवेशन प्रतिनिधि इन्दिराले पनि मृगौला पीडित जसमान वाईबालाई सहयोग गरी दिन आग्रह गरेकी छन् । एनसीसी बैंक लोकन्थली शाखामा जसमान वाईबाको नाममा रहेको बचत खाता नं. ०४५००००१४१३१० मा जम्मा गरिदिनु हुन वा मोवाइन नम्बर : ९८४९६२०४८३ मा सम्पर्क गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्