प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल



काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा बुधवार ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको हो । दोस्रोपटक मिर्गौला प्रत्यारोपण भएका कारण जोखिमपूर्ण हुने आशंका गरिएको थियो । तर उनको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएपछि शुभचिन्तकहरु अत्यन्तै हर्षित भएका छन् । प्रधानमन्त्री ओलीको उच्च मनोवल र दृढ आत्म विश्वासका कारण पनि प्रत्यारोपण सफलतालाई सहयोग मिलेको ठानिएको छ । नयाँ मिर्गौला प्रत्यारोपण गरिएसँगै प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला भएको छ । ओली गत सोमबार नै अस्पताल भर्ना भएका थिए । ओलीलाई बुधवार विहान १० बजे अपरेशन थिएटरमा लगिएको थियो । प्रा. डा. प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोलीले प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरेको हो । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीसँगै मिर्गौला दान दिने उनकी भान्जी समीक्षा संगौला पनि सोमबार नै अस्पताल भर्ना भएकी थिइन् । ओलीको ०६४ मा पहिलो पटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । पहिलो पटकको प्रत्यारोपणमा ओलीलाई चितवन निवासी भाइबुहारी अन्जना घिमिरेले मृगौला दान दिएकी थिइन् । पहिलो पटक मृगौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्रा.डा. अनन्त कुमार पनि दोस्रो पटकको प्रत्यारोपणमा डा. ज्ञवालीसंगै सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्