सांसद राईको पहलमा सोलुमा थपियो १० करोड बजेट
फाइल फोटो, काठमाडौं । प्रतिनिधिसभा सदस्य हेमकुमार राई ‘सूरवीर’को पहलमा सोलुखुम्बुका भिन्दाभिन्दै दुई सडकखण्ड स्तरोन्नतिका लागि १० करोड रुपैयाँ बजेट थप भएको छ । तिङ्ला–नेचा र नेले–महाकुलुङ कच्ची सडकको स्तरोन्नतिका लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट पाँच/पाँच करोड रुपैयाँ थप भएको सांसद राईले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा यसअघि तिङ्ला–नेचा र नेले–महाकुलुङ सडक खण्डको स्तरोन्नतिका लागि क्रमशः एक करोड ८० लाख र एक करोड रकम बजेट विनियोजन भएको थियो । थप भएको रकम पहिले विनियोजित बजेट बाहेकको हो । थप भएको उक्त १० करोड बजेट बराबरको काम आगामी असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने भए पनि सम्बन्धित सडक डिभिजन प्रमुख नभएका कारण ढिलाई हुने आशंका गरिएको छ । सांसद राईले सडक स्तरोन्नतिका लागि थप भएको सो बजेट शीघ्र कार्यान्वयनका लागि सडक डिभिजन कार्यालय हर्कपुरको ध्यानाकर्षण समेत गर्नु भएको छ ।
जनताको जीवनमा सहजता ल्याउनका लागि सडकको विकास महत्वपूर्ण भएको धारणा राख्दै आउनु भएका सांसद राईले सल्लेरी–स्यागुडी–काकु–बासा –खरिखोला–खुम्बु जिल्लास्थिति निर्वाचन क्षेत्र रणनीतिक सडक बहुवर्षीय ठेक्का प्रक्रिया यसैवर्षबाट सुरु हुने जानकारी समेत रहस्यखबरलाई दिनुभयो ।