कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित हुने खतरा
काठमाडौं । विवादका वीच १४ औं महाधिवेशनको मिति घोषणा गरेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित वन्ने संम्भावना वढ्दै गएको छ । घोषित मितिमा अन्तरिम सांगठनिक संरचना समायोजन हुने संम्भावना न्यून वन्दै गएकाले कांग्रेस महाधिवेशन कार्यतालिका प्रभावित हुने देखिएको हो ।
फागुनको दोस्रो हप्तासम्ममा समायोजन भइसक्नुपर्ने अन्तरिम सांगठनिक संरचना पहिलो हप्ता वितिसक्दा समेत ३० जिल्ला वाहेक अन्यत्र सम्पन्न हुन सकेको छैन । पार्टीमा अस्तिवमा रहेका विभिन्न गुट उपगुटहरुको विवादका कारण समायोजन प्रक्रिया लम्विएपछि महाधिवेशन कार्यतालिका प्रभावित हुने चिन्ताले नेता कार्यकर्ताहरुलाई सताउन थालेको छ । त्यही भएर यस विषयमा नेपाली कांग्रेसका केन्द्रिय पदाधिकारी र निर्वाचन समितिवीच विहिवार छलफल आयोजना गरिएको कांग्रेस मुख्यालयले जनाएको छ । छलफलमा समायोजनको जिम्मेवारी पाएको निर्वाचन समितिले हालसम्मको प्रगति विवरण पेश गरेको थियो । कांग्रेस निर्वाचन समितिको संयोजकमा राधेश्याम अधिकारी रहेका छन् । फागुन १५ गते सम्ममा सबै जिल्लामा समायोजन टुग्याउने जिम्मेवारी पाएको समितिले समयमै काम गर्न नसक्दा फागुन–चैतमा साधारण र क्रियाशील सदस्यता वितरण गर्ने कार्यतालिका पछि सर्ने निश्चितप्राय भएको छ । यो घोषित मितिमै महाधिवेशन गर्ने कुराका लागि शुभ संकेत होइन ।
निर्वाचन समितिले पेश गरेको विवरण अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, ओखलढुंगा, उदयपुर, दोलखा, सिन्धुली, भक्तपुर, चितवन, गोरखा, मनाङ र लमजुङबाट सबै विवरण प्राप्त भएको छ। कास्की, तनहुँ, रोल्पा, रूकुम (पश्चिम), हुम्ला, मुगु, कालिकोट, जाजरकोट, कपिलवस्तु, बाजुरा, डोटी, कैलाली, दार्चुला, डडेलधुरा र कञ्चनपुर जिल्लाले पनि समायोजन टुंग्याएपनि अरु जिल्लाहरुमा खासै प्रगति हुन सकेको छैन ।
महाधिवेशन हुने वर्षभन्दा कम्तीमा एक वर्षअगावै स्थानीय तहका सबै अधिवेशन र कार्यसमिति गठन भइसक्नुपर्ने विधानको प्रावधान छ। निर्वाचनमार्फत नयाँ संरचनामा जाँदा समय लाग्ने भएकाले कांग्रेसले सहमतिमा अन्तरिम संरचना समायोजन गर्ने निर्णय गरेको थियो । साउन २६ गतेको केन्द्रीय कार्यसमिति बैठकले कात्तिकभित्र संघीयताअनुसार स्थानीय तहमा पार्टीको अन्तरिम संरचना समायोजन गरिसक्ने निर्णय गरेको थियो । कांग्रेसले अर्काे वर्ष फागुन ७ देखि १० गतेभित्र केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
दिव्यदर्शनबाट
