देशभरका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो



काठमाडौं, फागुन ९ । हिन्दूहरुको महान् पर्व महाशिवरात्रिका अवसरमा मुलुकभरका शिव मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लागेको छ । सम्पूर्ण दीनदुःखी र संकटले घेरिएका प्राणीहरूको हृदयमा बास गरी कल्याण गर्ने आशुतोष भगवान् शिवको अति प्यारो दिन मानिने महाशिवरात्रीमा आराध्यदेव भगवान् शिवको पूजा–आराधना मनाइने गरिएको छ । यसैक्रममा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गइ श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरी शिवरात्रि पर्व मनाइरहेका छन् ।


यस क्रममा राजधानी काठमाडौंको गौशालामा अवस्थित पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसीलगयात देशका अन्य शिवमन्दिरहरुमा भक्तजनहरुले भगवान् शिवको पूजा आराधना गरिरहेका छन् । विगतमा भन्दा यस वर्ष पशुपति नाथमा पूजा आराधनाका लागि विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पाशुपत क्षेत्रमा आउने भक्तजनहरुले समेत अन्य वर्षहरुमाभन्दा धेरै भिन्न र व्यवस्थापन राम्रो भएको भन्दै खुसी व्यक्त गरेका छन् द्वादश ज्योतिर्लिङ्गको शिर मानिने पशुपतिनाथमा दर्शनका लागि देशविदेशबाट आएका श्रद्धालुहरुको भीड छ । नेपालका विभिन्न जिल्लाबाट महाशिवरात्रिका लागि नै पाशुपत आउनेहरुको समेत संख्या निकै रहेको छ ।
पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चारओटा प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । व्रतहरु मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भइ शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने प्रचलन छ । पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्