सरकार ढाल्ने षड्यन्त्र भइरहेको आरोप : को संग डराइ रहेका छन् प्रधानमन्त्री ओली ?



काठमाडौं । झन्डै दुई तिहाई नजिकको बहुमत रहेको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय त्रसित बन्दै जान थालेको देखिएको छ । सरकारले दुई वर्षे कार्यकाल पूरा गरेसंगै अविश्वासको प्रस्ताव दर्ता गर्ने संवैधानिक बाटो खुलेसंगै प्रधानमन्त्री ओली त्रसित देखिएका हुन् । प्रधानमन्त्री ओली स्वंयले नै आफ्नो सरकार विरुद्ध षड्यन्त्र शुरु भएको अभिव्यक्ति दिएर आफू त्रसित भएको संकेत दिएका हुन् ।
आफू नेतृत्वको वर्तमान सरकार ढाल्ने चलखेल शुरु भएको प्रधानमन्त्री ओलीको अभिव्यक्तिले राजनीतिक वृत्तमा ठूलै तरंग उत्पन्न गराइ दिएको छ । प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारसंग दुई तिहाइ नजिक बहुमत रहेको छिपेको छैन । त्यसमाथि पनि उनकै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्पष्ट बहुमत संघीय संसद प्रतिनिधिसभामा छ । यो अवस्थामा प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढाल्ने षड्यन्त्र भइरहेको कसरी देखे कम उदेक लाग्दो छैन । कतिपयले त प्रधानमन्त्री ओलीले आफनै पार्टीका सांसदहरुप्रति विश्वस्त नभएको अर्थमा यसलाई लिनुपर्ने टिप्पणी गरिरहेका छ । उनीहरुको यो टिप्पणीलाई पूरै गलत मानि हाल्ने अवस्था पनि अहिले छैन ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा प्रभावकारी ढंगले प्रतिपक्षीको भूमिका खेल्न नसकिरहेका बेला स्वयं सत्तारुढ दलकै कतिपय सांसदहरु वर्तमान सरकारको कटुआलोचकको रुपमा देखिएका छन् । त्यति मात्र होइन प्रधानमन्त्री ओलीको कार्यशैली, अभिव्यक्ति र व्यवहारका कारण नेकपाकै नेताहरु उनीप्रति सन्तुष्ट हुन सकिरहेका छैनन् । यो अवस्थामा प्रधानमन्त्री ओलीले सरकारको निरन्तरतामा आशंका गर्नु स्वभाविक भएको कतिपयको तर्क छ । यति मात्र होइन सत्तारुढ दल नेकपामा पछिल्लो समय अमेरिकी सहयोग एमसीसी सम्झौताको विषयले ध्रुविकरणलाई तीब्र बनाइ रहेको छ । प्रधानमन्त्री ओली र उनी निकटका नेता कार्यकर्ताहरु खुलेरै एमसीसी सम्झौता तत्काल पारित गर्नु पर्ने अभिव्यक्ति दिइरहेका छन् भने इतर समूह एमसीसी सम्झौता अध्ययन गरेर मात्रै पारित गर्नु पर्ने टिप्पणी गरिरहेको छ । इतर समूहमा तत्कालीन नेकपा माओवादी केन्द्र समूह र एमालेभित्रकै कतिपय वरिष्ठ नेताहरु छन् । यसैको प्रतिफल स्वरुप पार्टीको केन्द्रीय कमिटी बैठकबाट एमसीसी अध्ययन कार्यदल गठन गर्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली बाध्य भएका थिए । झलनाथ खनाल नेतृत्वको सो कार्य दलले सचिवालय समक्ष अझै आफ्नो अध्ययन प्रतिवेदन बुझाइ सकेको छैन । यद्यपी सार्वजनिक भए अनुसार एमसीसी सम्झौताका बुँदा परिमार्जन गरेर मात्रै यसलाई पारित गर्नुपर्ने सुझाव कार्य दलले दिने निश्चित छ । एमसीसी सम्झौता संसदमा दर्ता हुने वित्तिकै पारित हुने प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति कार्यदलका सदस्यहरुले आपत्ति जनाइ सकेका छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका ओलीको अभिव्यक्ति पार्टीको निर्णय विपरित भएको कार्यदल सदस्यहरुको टिप्पणीले एमसीसी सहजै संघीय संसदबाट पारित हुने सम्भावना देखिदैन । परिमार्जन गरेर पारित गरिए त्यो आफूहरुको लागि त्यो मान्य नहुने अमेरिकी अभिव्यक्ति आइसकेको अवस्थामा यो विषयले प्रधानमन्त्री ओली साँच्चिकै अप्ठेरोमा परेको देखिएको छ । यो गाठो फुकाउन प्रधानमन्त्री ओलीलाई सहज पक्कै छैन ।
केही समय अघिसम्म लचिलो देखिएका अर्का अध्यक्ष पुष्पकमल दाहाल एकसीसीको विषयमा कठोर बन्दै जाने संकेत पनि देखिन थालेका छन् । उनका दाहिने हात मानिएका पूर्वसभामुख कृष्ण बहादुर महरा बलात्कार आरोपबाट सफाइ पाएर जेल मुक्त भएपछि पूर्वमाओवादी समूह खुलेरै यसको विरुद्ध लाग्ने विश्लेषण हुन थालेका छ । जेल मुक्त भएपछि पूर्वसभामुख महराले जारी गरेको विज्ञप्तिले नै सो कुरा प्रष्ट पारेको कतिपय पूर्वमाओवादी कार्यकर्ताहरुले बताउँदै आएका छन् । एमसीसी सम्झौतालाई प्रधानमन्त्री ओलीको चाहना बमोजिम संघीय संसद बैठकमा टेबल नगरेकै कारण तत्कालीन सभामुख महरालाई षड्यन्त्रपूर्वक बलात्कार प्रकरणमा फसाइएको आरोप उनीहरुले लगाउँदै आएका थिए । महराको रिहाइले पनि एमसीसी प्रकरण थप पेचिलो हुने चर्चा राजनीतिक वृत्तमा छ । यीनै कुराहरुको विश्लेष गरेर प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएको बुझ्न कठिन छैन । एमसीसी प्रकरणको सफल अवतरण भएन भने यो विषयले सत्तारुढ नेकपामा विभाजन अवश्यंभावि बन्दै गएको पर्यवेक्षकहरुको टिप्पणी छ ।
पर्यक्षकहरुको यही टिप्पणीलाई बल मिल्ने किसिमले पार्टीका अर्का अध्यक्ष दाहालले विरेन्द्रनगरमा पार्टी विघटन को खतरा रहेको बताएका छन् । मंगलवार आयोजित एक कार्यक्रममा पार्टीभित्र आइपरेका खतरा रोक्न ढिला गरे पार्टी बनाउने इच्छाशक्ति हुँदाहुँदै पनि पार्टी विघटनतिर जाने खतरा रहेको अध्यक्ष दाहालको भनाइ थियो । पार्टी विघटन भए प्रतिक्रियावादीहरूको सपना साकार हुने भन्दै उनले पार्टी विघटन गराउन कसरत धेरैले गरेको बताए ।
‘पार्टी कमजोर बनाउन षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘पार्टीका बारेमा भ्रम सिर्जना भइरहेका छन्।’ नेता–कार्यकता र जनताबीच केही तत्वले भ्रम सिर्जना गरेको भन्दै उनले भने, ‘यस्तो भ्रमलाई चिर्न सबै लाग्नुपर्छ ।’
अहिले सबैतिर कम्युनिस्ट अस्ताएको र नेपालमा पनि दुई ठूला कम्युनिस्ट मिलेकाले प्रतिक्रियावादीहरू सल्बलाई रहेको उनको भनाइ छ । कम्युनिस्ट पार्टीले राजनीतिक क्रान्ति बदलेको भन्दै उनले अझै धेरै काम गर्न बाँकी रहेको बताए। पार्टी विधि र प्रक्रियाबाट चलाउने भन्दै उनले अब पार्टी र पार्टीका जनवर्गीय संगठनको नियमित बैठक बस्ने जनाए।
‘बैठक टार्ने हिसाबले बैठक बस्दैन,’ दाहालले भने, ‘सबैको विचार सुन्ने गरी बैठक बस्छ।’ यहाँ बैठक टार्ने र झमेला लाग्ने गरी बैठक बस्ने गरेको भन्दै उनले त्यो बैठक नभइ गुटको गलत कार्यशैली भएको बताए।

प्रतिक्रिया दिनुहोस्