कुखुराको मासुको मूल्य बढेको बारे अनुसन्धान गर्दै वाणिज्य विभाग



काठमाडौं ६ फागुन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कुखुराको मूल्य बढाउन चल्ला नष्ट गरेका बारेमा अनुसन्धान गरिरहेको जनाउँदै दोषी देखिएमा ह्याचरी व्यवसायीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएको छ।

विभागले सोमबार पत्रकार सम्मेलन गरेर यो प्रतिबद्धता जनाएको हो। दुई साताअघि ब्रोइलर कुखुराको मूल्य किलोको ४ सय रूपैयाँ नाघेपछि विभागले अनुसन्धान अघि बढाएको थियो। अहिले भने फेरि कुखुराको मासुको मूल्य ३ सय ६० रूपैयाँमा झरेको छ।

लागतभन्दा कममा कुखुराको मासु र अण्डा बिक्री गर्नुपर्ने अवस्था भएपछि ह्याचरी उद्यमीले ‘चिकेन होलिडे’ को निर्णय गरेका थिए। १० दिनसम्म चल्ला उत्पादन र बिक्री नगर्ने निर्णयसँगै मूल्य लगातार बढेको छ।

१० दिन चल्ला बिक्री बन्द हुनेबित्तिकै कुखुरा उत्पादन कम भयो। ब्रोइलर र लेयर्स गरी देशभर हप्तामा २५ लाख चल्ला उत्पादन बन्द गरेर मूल्य बढेको थियो। विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अनुसन्धान प्रक्रिया जारी रहेको बताउँदै दोषी देखिएमा कारवाही गर्ने बताए।

कार्यक्रममा विभागले साउनदेखि फागुन ४ गतेसम्म विभिन्न कम्पनीको अनुगमन गरेको थियो। विभागले ६ हजार ५ सय ४८ कम्पनीमा अनुगमन गर्दा बजारमा अनियमितता गर्नेलाइ कारवाही गरेर ७ करोड २ लाख ११ हजार ८ सय ९९ जरिवाना गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्