केजरीवालको नेपाल तरंग



– निमिष झा
भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनमा आम आदमी पार्टी (आप) ले सानदार जित हाँसिल गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो अर्को कार्यकाल पुनः सुरक्षित गरेपछि दक्षिण एसियामै सानो र नयाँ दलको प्रभावका बारेमा विभिन्न कोणबाट बहस अघि बढेको छ । दिल्लीका मतदाताले उल्लेख्य रूपमा किन उदाउँदै गरेको पार्टीलाई साथ दिए भन्ने विषयमा आम बहस चलेको छ । मुलुकको नेतृत्व गरिरहेको दलले केन्द्रमा कुनै चमत्कार गर्न नसकेको आम बुझाइ रहँदा नै आपले जनताका साथ पाएको हो ।
यो परिणामले केन्द्रको सत्तारूढ बीजेपीलाई ठूलो धक्का मात्र दिएन, परम्परागत शक्ति मानिएको कांग्रेसलाई दिल्लीबाट ‘क्लिन स्विप’ नै गरिदिएको छ । बीजेपीले दिल्लीमा थप पाँच सिट जितेको भए पनि अझै ७० मध्ये उसको पकडमा जम्मा आठवटा मात्रै छन । बाँकी सबै आम आदमी पार्टीले जितेको हो । दिल्लीमा उनको यो जित दक्षिण एसियाका लागि ठूलो सन्देश पनि हो । पछिल्लो मतपरिणाम आधारमा आप दुई तिहाइभन्दा बढी स्थानमा विजय हासिल गरी दिल्ली सरकार नेतृत्व गर्ने अवस्थामा आइपुगेको छ । आपका प्रमुख केजरीवालले तेस्रोपटक मुख्यमन्त्रीका रूपमा दिल्ली सरकार नेतृत्व गर्ने अवसर पाउँदै छन् ।
५१ वर्षीय पूर्वकर्मचारी केजरीवाल भ्रष्टाचारविरोधी अभियान गर्दै राजनीतिमा उदाएका थिए । उनी सत्तामा रहेर पनि त्यो कर्ममा लागिरहेको सन्देशकै कारण दिल्लीका आम जनताले उनलाई सत्तामा राख्न मन पराएको विश्लेषण गरिएको छ । उनी पहिलो पटक सन् २०१३ मा मुख्यमन्त्री बनेका थिए र त्यसपछि सन् २०१५ मा भारी मतसहित पुनः निर्वाचित भए । भारतका सरकारी विद्यालयमा सुधार ल्याएको, प्रहरी फौजको नियन्त्रण र जग्गासम्बन्धी अधिकारका लागि लडिरहनुका साथै सुलभ क्लिनिकहरू बनाएको र सस्तोमा पानी र बिजुली उपलब्ध गराउँदै आएको विषयले उनलाई पुनः त्यहाँ राखिरहन जनता अग्रसर भएको देखिन्छ । दिल्लीको यो निर्वाचनमा स्थानीय राजनीतिलाई राष्ट्रिय राजनीतिक एजेन्डाद्वारा प्रभावित गर्ने भाजपाको प्रयासलाई दिल्लीवासीले अस्वीकार गरेका छन् । स्थानीय नागरिकका मुद्दा सम्बोधन गरेका कारण मतदाताले आपलाई उल्लेख्य मत दिएर पुनः सरकार निर्माण गर्ने अवसर उपलब्ध गराएका हुन् ।
आपलाई सुरूका दिनमा केही असजिलो भए पनि उसले आफूले गरेका प्रतिबद्धता पूरा गरेको छ । अझ केन्द्रमा शासन गरिरहेको भाजपा सरकारले दिल्ली सरकारलाई असहज स्थिति पैदा नगरेको होइन । तर यति हुँदाहुँदै पनि आफ्नो स्रोत÷साधन र क्षमता प्रयोग गरेको देखिन्छ ।
नागरिकको हृदयमा बास गर्ने हो भने समर्पण र इमान्दारिता आवश्यक हुन्छ । निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्ने दललाई आम नागरिकले अर्कोपटक पनि समर्थन गरिहाल्छन् ।
दिल्लीको तरंग नेपालमा
नेपालमा केजरीवालको चुनावी विजयले नेपालको राजनीतिलाई पनि तरंगित गरेको छ । केजरीवालको तेस्रो पटकको पुनरागमनले नेपालका राजनीतिक दललाई गतिलो सन्देश दिएको छ ।
नेपालका राजनीतिक दलहरूले समेत आपको यो सफलताबाट केही शिक्षा लिन सक्छन् । नेपालका प्रमुख दलप्रति व्यापक गुनासो भइरहे पनि तिनैलाई निर्वाचनमा मत दिनुको विकल्प देखिएको छैन । वैकल्पिक राजनीतिका निम्ति अग्रसर दलले समेत आम विश्वास प्राप्त गर्न नसकेको स्थिति छ । आपको सफलताबाट बुझ्नुपर्ने पहिलो कुरा के हो भने स्थानीय स्तरमा उठेका मुद्दा सम्बोधन गर्ने दल सफल हुन सक्छन् । आपले दिल्लीका बासिन्दालाई किन यसपटक पनि उम्मेदवार बन्न लागेको भन्ने बुझाउन हजारौं स्वयंसेवक परिचालन गरेको थियो । साथै उसले आफू यथास्थितिवादविरूद्ध रहेको सन्देश आम रूपमा दिएको थियो । स्थानीय नागरिकका दैनिक समस्यामा ध्यान दिने हो भने निःसन्देह निर्वाचनमा मतदाताको ध्यानाकर्षण गर्न सकिन्छ ।
ठूलठूला गफभन्दा स्थानीय नागरिकका ससाना समस्या समाधान गर्न सक्ने कुनै पनि दल मतदाताको प्रिय बन्न सफल हुन सक्छन् । सेवाप्रवाह नगर्ने, भ्रष्टाचार मात्र गर्ने दलहरू जनताबीच धेरै दिन टिक्दैनन् भन्ने सन्देश पनि हो आपको विजय । यद्यपि नेपालको सन्दर्भमा फलानो दलले राम्रो गर्ला कि भन्ने आशैआशामा चुनावमा सहभागी हुँदै गए । जिताएर पठायो, फेरि उस्तै । जुनसुकै दल पनि जनतालाई सेवा प्रवाह गर्नमा चुक्दै आएका छन् । दलहरूमा ‘पाँच वर्षपछि देखा जाएगा’ भन्ने प्रवृत्तिका कारण जनतामा घोर निराशा उत्पन्न गराएको छ । जसले अन्ततः दलहरूका लागि नै प्रत्युत्पादक बन्दै गएको छ ।
नेपालमा पनि विवेकशील नेपाली र साझाजस्ता दलले आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा अग्रसर गराइरहेका छन् । पछिल्लो समयमा सिके राउतको जनमत पार्टी सहित मधेशी दलहरू पनि वैकल्पिक शक्तिको रूपमा आफूलाई उभ्याएका छन् । तर उनीहरूले वैकल्पिक राजनीति सम्भव छ भन्ने सन्देश दिन सकियो भने विद्यमान ठूला दल पनि आफूलाई सुधार गर्न बाध्य हुनेछन् । (मधेश दर्पण फिचर सेवा)

प्रतिक्रिया दिनुहोस्