नेपाल टेलिकमको नाफा घट्यो

काठमाडौँ / नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

उक्त विवरण अनुसार कम्पनीले प्रथम त्रैमासिकमा कूल सेवा वापतको आय ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार रुपैयाँ रहेकोमा द्वितीय त्रैमासिक अवधिमा कूल सेवा वापतको आयमा ४५ करोड ४२ लाख ३३ हजार रुपैयाँले बढेर ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।
यसैगरी गत आर्थिक बर्षको द्वितीय त्रैमासिक अवधिमा कूल सेवा वापतको आयमा ८ अर्ब ९९ करोड ८७ लाख २९ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक बर्षको द्वितीय त्रैमासिक अवधिमा कूल सेवा वापतको आयमा ९० करोड ८४ लाख ४ हजार रुपैयाँ बृद्धि भई ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार रुपैयाँ पुगेको हो ।
त्यस्तै, कम्पनीले प्रथम त्रैमासिकमा एक अर्ब ५१ करोड ७७ लाख ६९ हजार रुपैयाँ खुद नाफा गरेकोमा चालु आर्थिक बर्षको द्वितीय त्रैमासिक अवधिमा उक्त नाफा २५ करोड ३८ लाख ५५ हजार रुपैयाँले बढेर एक अर्ब ७७ करोड १६ लाख २५ हजार रुपैयाँ पुगेको छ ।
गत बर्ष द्वितीय त्रैमासिकसम्म अर्थात पहिलो अर्धबार्षिकमा कूल सेवा वापतको आय १८ अर्ब ३ करोड ९५ लाख ७६ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक बर्षको सोही अवधिमा कूल सेवा वापतको आयमा १.७४ प्रतिशतले घटेको छ ।
चालू आर्थिक बर्षको अर्धबार्षिक अवधि अर्थात समीक्षा अवधिमा कम्पनीको कूल आय १७ अर्ब ७२ करोड ४९ लाख १३ हजार रुपैयाँमा सीमित भएको हो ।
गत आर्थिक बर्षको द्वितीय त्रैमासिकसम्मको कूल आयको तुलनामा चालु आर्थिक बर्षको सोहि अवधिसम्मको कूल आयमा कमी आउनुका कारण कोभिड – १९ को महामारी भएको बताएको छ ।
कम्पनीले कोरोनाको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापारमा कमि आउनु / नाफा घट्नुको मूख्य कारण भएको बताएको हो ।
त्यस्तै, बैंक तथा वित्तिय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको प्रथम त्रैमासिकको तुलनामा चालु आर्थिक बर्षको अवधिमा घटेको कारण व्याज आम्दानीमा करिब रु २० करोड ७४ लाखले कमी आएको कम्पनीको भनाई छ ।
कोरोना महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलब्ध गराएको हुँदा जिएसएम सेवातर्फ अघिल्लो बर्षको प्रथम त्रैमासिकको तुलनामा डाटाको कन्सम्प्सन बढे पनि राजश्वमा कमि आएको कम्पनीको भनाई छ ।
त्यस्तै, कोरोना महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको अभुतपूर्व गिरावट तथा ओटिटको को वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तर्आवद्दता सेवामा आएको भारी गिरावट आएको कम्पनीले जानकारी दिएको छ ।
यसैगरी समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि तथा विदेशी मुद्रा सटहि दरमा आएको परिवर्तन आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको हो ।

