भूमि समस्या समाधान आयोग सोलुको अध्यक्षमा रामकाजी



सोलुखुम्बु । सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ । सोलुखुम्बु जिल्ला समितिको अध्यक्षको जिम्मेवारी रामकाजी श्रेष्ठ र विज्ञको रुपमा कुन्जाङ शेर्पा र सदस्यमा मोहनकुमारी कार्कीले जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा माघ १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ वटै जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको हो । प्रत्येक जिल्लाको अध्यक्ष र २ सदस्यगरी ७७ जिल्लामा २ सय ३१ जना जिल्ला समितिका पदाधिकारी सरकारले नियुक्त गरेको हो । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवाली हुनुहुन्छ ।

मनोनित पदाधिकारीको सपथग्रहण माघ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।

पद्मा अर्याल भूमि व्यवस्था मन्त्री भएकै बेला बनेको सूची नेकपा विभाजनपछि केही हेरफेर गरेर प्रचण्ड माधव नेपाल पक्षमा लागेकालाई हटाएर नयाँ सूची बनाइएको स्रोतले जनाएको छ ।

सोलुखुम्बुवाट मनोनयनमा परेका तीनै जना हाल नेकपाको केपी ओली समूहमा रहनुभएको छ ।

जिल्ला अध्यक्षले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) तलब–भत्ता पाउने व्यवस्था छ भने सदस्यले राजपत्रांकित द्वितीय श्रेणी उपसचिवसरह सुविधा पाउनेछन्। आयोगको जिल्ला समिति गठनसम्बन्धी मन्त्रिपरिषद्को माघ १५ गतेको निर्णय सोमबारB राजपत्रमा प्रकाशन भएको हो।  मन्त्रिपरिषद्कै चैत ९ गते बसेको बैठकले देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो।
प्रतिक्रिया दिनुहोस्