किसान क्रेडिट कार्ड वितरण सुरु

काठमाडौं । कृषि विकास बैंकले बुधबारदेखि किसान क्रेडिट कार्ड वितरण सुरु गरेको छ । बैंकले आफ्नो ५४ औ वार्षिकोत्सवको अवसर पारेर किसान कार्ड वितरण सुरु गरेको हो ।
पहिलो दिन नै २० जनालाई कार्ड बाँडिएको बैंकका कार्यकारी प्रमुख अधिकृत अनिलकुमार उपाध्यायले जानकारी दिए । १८ जना किसान र २ जना मर्चेन्ट (किसानको सामान खरिद बिक्री गर्ने एजेन्ट)ले किसान कार्ड पाएको उपाध्यायले बताए ।

पहिलो चरणमा काठमाडौंका किसानलाई यो कार्ड वितरण गरिएको हो । विगत ४÷५ दिन यताको विभिन्न परीक्षणपछि किसानलाई कार्ड वितरण गर्न थालिएको उपाध्यायले जानकारी दिए ।
बैंकले आफ्ना ५० शाखा काार्यलयलाई किसान क्रेडिट कार्ड वितरणका लागि बुधबार नै सर्कुलरसमेत गरेको छ । कृषि पेशा अँगाल्नेहरुका लागि बैंकले देशभरका आफ्ना शाखामार्फत किसान क्रेडिट कार्ड बाँड्नेछ । एटिएम र भिसा कार्डकै आकारमा हुने सो कार्ड एटिएम बुथमा भने चल्दैन ।
कृषि सामग्री, मल खाद, मेसिनरी बिक्री गर्ने सप्लायर्स आदि कृषि बिकास बैंकको मर्चेन्ट (एजेन्ट) हुन्छ । कार्डमा रहेको क्युआर कोड स्क्यान गरेर उनीहरुले भुक्तानी लिन सक्छन् । मोबाइल सिस्टमबाट कार्डको क्युआर कोडमार्फत भुक्तानी हुने व्यवस्था मिलाइएको हो ।
कृषि विकास बैंकले कार्डको पहुँच हुने मोवाइल एप्लिकेसनको विकास गरेको छ । सो एपमार्फत स्क्यान गरेर भुक्तानी हुने व्यवस्था गरिएको छ ।
किसानले बैंकबाट ऋण स्वीकृत गराएपछि ऋणको निश्चित रकम कार्डमा लोड हुन्छ भने किसान एपमा किसानको प्रोफाइल तयार हुन्छ ।
यो विशेष गरी किसानले पाउने ऋण र अनुदानसँग सम्बन्धित छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कृषि विकास बैंकमार्फत किसान कार्ड जारी गरिने उल्लेख थियो । सोही बमोजिम किसान कार्ड कार्यान्वयनमा आएको हो ।

