जनताले विकल्प खोजकै हुन त ?

काठमाडौं,२० मंसिर। यतिखेर मुलुकभर राजा आउ देश बचाउ भन्ने नारा घन्किएको छ । १० वर्षे सशस्त्र द्वन्द्व र जनआन्दोलन २०६२/०६३ले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र यतिखेर असफल सावित भएको छ । नेपाली जनता कसैले राम्रो नारा लिएर अगाडि आयो भने त्यसलाई साथ दिन्छन् । उनीहरु जहिले पनि नयाँपन खोजिरहेका हुन्छ । उनीहरुले जसलाई साथ दिएका हुन्छन्, उसलाई आशाको केन्द्रविन्दु मान्छन् । तिनीहरुमै भविष्य देख्छन् । जनता जहिले पनि सहज जनजीवन र मुलुकको समृद्धि खोजिरहेका हुन्छन् । राजनीतिक दलहरुले जुन नारा दिएर जनतालाई परिवर्तनको लागि अगाडि बढाएका थिए, अब दलहरुले तिनीहरुलाई नै बिर्सिए । युवाहरुले गरेको त्याग, बलिदानको अवमूल्यन भएको छ । देश र जनताको भन्दा आफू र आफ्नालाई कसरी मालामाल बनाउने भन्ने चिन्ताले नेताहरुलाई गाँजेको छ । भ्रष्टाचार, कालाबजारी, अपराधिकरण दिन दुगुना, रात चौगुना बढेर गएको छ । जुन व्यवस्था, जुन शैली गलत हो भनेर परिवर्तन गरेका थिए, त्यो भन्दा पनि निरंकुशतातिर शासन व्यवस्था र कानुन बलियो बनाउँदै लगेका थिए । जनता पर्ख र हेरको अवस्थामा हुन्छन् । उनीहरु त मात्रै परिवर्तनको लागि नेतालाई साथ दिने हुन् । शासन त अर्कैको हातमा हुन्छ । अब के हुन्छ भनेर उनीहरुलाई थाहा हुँदैन । युवाहरु जहिले पनि राम्रोको लागि संघर्ष गर्छन् । राम्रो भएन भने पुनः परिवर्तनको लागि आवाज उठाउँछन् । शासकवर्गले के बुझ्नु आवश्यक छ भने जनचाहना अनुसार जनपक्षीय काम नगर्दा निरंकुशता सधैं टिकाइराख्न सकिदैन भन्ने कुराको हेक्का हुनुपर्छ ।

राजावादीहरुको देशव्यापी प्रदर्शनले वर्तमान व्यवस्था, नेतृत्व र वैकल्पिक राजनीतिमाथिको बहसलाई निम्तो दिएको छ । साथै प्रदर्शनमा देखिएको उल्लेख्य युवा सहभागिता पनि सोचनीय पक्ष बनेको छ, जसले दुईवटा प्रश्न जन्माएको छ । राजनीतिक नेतृत्वसँग रुष्ट युवाहरुले विकल्पका रुपमा ‘वैकल्पिक शक्ति’ को साटो किन राजतन्त्र रोजे ? के यो वैकल्पिक शक्तिको असफलता हो ? वैकल्पिक राजनीतिक शक्तिको वकालत गर्ने विवेकशील नेपाली दलका महासचिव निर्देश सिलवालले वैकल्पिक राजनीति रक्षात्मक अवस्थामा रहेको स्वीकारे । उनले भने, ‘वैकल्पिक राजनीतिक दलले आफूलाई बलियो गरि स्थापित गर्न नसकेकै कुरा सत्य हो । अहिले वैकल्पिक राजनीतिक दल आफ्नो आन्तरिक कुराले गर्दा रक्षात्मक अवस्थामा छन् । वैकल्पिक राजनीतिक दल भनिरहेकाहरुले आफ्नो प्रस्ट एजेण्डा ल्याउन सकिरहेका छैनन् । अझै पनि धेरै वैकल्पिक राजनीतिक दलले आफ्नो एजेण्डा वा सिद्धान्त स्पष्टता ल्याउन नसक्दा समस्या आएको छ ।
राजावादी आन्दोलनमा प्रोग्रेसिभमात्र होइन रिग्रेसिभ मान्छे पनि छन् । ‘रिग्रेसिभ मान्छेहरुको आफ्नो कुरा गुम्दा पहिचानको संकट छ । अहिले उनीहरु हौसिए पनि यतिमै हामी आत्तिनु पर्ने अवस्था छैन । तर यसले गरेको संकेत डरलाग्दो छ,’ उनले कारण देखाउँदै भने, ‘नेकपा विभाजनको डिलमा छ, काँग्रेस सुतेको अवस्था छ । पश्चगामीभन्दा अग्रगामी शक्तिले आशाको दियो जगाउन सक्यो भने राम्रो हुन्छ । त्यसका लागि वैकल्पिक शक्ति आउन सक्छन् ।
तर राजावादी आन्दोलनले नेपाली समाज काँग्रेस र कम्युनिस्टको विकल्प खोज्दैछ भन्ने प्रस्ट पारेको छ । नेपालमा एउटा प्रोग्रेसिभ एजेण्डा बोक्ने पार्टी सत्तामुखी र रिग्रेसिभ पार्टी (राजावादी)जस्तो दोस्रो हुन सक्छ भने काँग्रेस र कम्युनिस्ट तेस्रो र चौथो पनि हुन सक्छन् । यद्यपि नेपालको संरचना र वर्तमान राजनीतिक परिस्थिति हेर्दा झ्याप्पै त्यो होला जस्तो भने उनलाई लागेको छैन ।

