अनुसन्धान प्रभावित पार्ने गरी अपुष्ट, भ्रामक तथा तथ्यहीन सूचना र सामग्री प्रकाशित नगर्न काठमाडौं प्रहरीको आग्रह
काठमाडौं,१३ मंसिर । नेपाल प्रहरीले अनुसन्धानको निष्कर्ष सार्वजनिक नहुँदै अपुष्ट, भ्रामक तथा तथ्यहीन सूचना र सामग्री सार्वजनिक नगर्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा आम नागरिकलाई आग्रह गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीका विभिन्न अनुसन्धान प्रक्रियाबारे केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका दाबी र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
अनुसन्धानका सम्पूर्ण काम प्रचलित कानुनी व्यवस्था, विधि र प्रक्रियाअनुसार निष्पक्ष तथा तथ्यपरक रूपमा हुने उल्लेख गर्दै विज्ञप्तिमा अनुसन्धानकै क्रममा रहेका घटनासँग सम्बन्धित गोप्य,संवेदनशील तथा अपुष्ट सूचना,विवरण र सामग्री अनधिकृत रूपमा सार्वजनिक भएको विषयलाई प्रहरीले गम्भीरतापूर्वक लिएको जनाएको छ। यस्ता सूचना सार्वजनिक भएको विषयमा समेत छुट्टै गोप्य अनुसन्धानसमेत भइरहेको प्रहरीले स्पष्ट पारेको छ।
अनुसन्धानको पूर्ण निष्कर्ष नआउँदै अपुष्ट तथा भ्रामक सामग्री सार्वजनिक गर्दा अनुसन्धान प्रक्रियामा प्रतिकूल प्रभाव पर्न सक्ने, घटनाबारे अनावश्यक भ्रम सिर्जना हुने तथा गोपनीयता र कानुनी अधिकारमा असर पुग्न सक्ने प्रहरीको भनाइ छ।
प्रहरीले अनुसन्धानसँग सम्बन्धित कुनै सूचना, प्रमाण वा विषयमा जिज्ञासा तथा चासो भए आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन र अनुसन्धान कार्यमा सहयोग गर्न सबैमा अनुरोध गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाद्वारा जारी सो विज्ञप्तिमा नेपाल प्रहरी तथ्य र प्रमाणका आधारमा निष्पक्ष,पारदर्शी तथा कानुनसम्मत अनुसन्धान गर्न प्रतिबद्ध रहेको पुनः स्पष्ट पारिएको छ।


