कांग्रेसको जिल्ला अधिबेशन दुई चरणमा गर्ने तयारी



काठमाडौँ,१३ मंसिर, । नेपाली काङ्ग्रेसले पार्टीको जिल्ला र प्रदेश अधिवेशन गर्ने कार्यतालिका टुंगो लगाएको छ ।

पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लाहरूमा मंसिर २४ र २५ गते तथा अन्य जिल्लाहरूमा पुस ४ र ५ गते जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए।

यसैगरी,कांग्रेसले सातवटै प्रदेशको अधिवेशन आगामी पुस १२ देखि १८ गतेसम्म सम्पन्न गर्ने गरी आन्तरिक तयारी अघि बढाएको छ। सबै प्रदेश अधिवेशनमा पार्टीका केन्द्रीय प्रमुख पदाधिकारीहरू स्वयं उपस्थित भई सम्बोधन तथा समन्वय गर्ने कार्यक्रम रहेकाले सातवटै प्रदेशको अधिवेशन एकै दिन नगरी एकदुई दिनको अन्तरमा आयोजना गर्ने सभापति थापाले स्पष्ट पारेका छन्।

जिल्ला तथा प्रदेश अधिवेशनको विस्तृत र औपचारिक कार्यतालिका केन्द्रीय निर्वाचन समितिले सोमबार सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ। १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र संशोधित विधानले निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएसँगै कांग्रेसले संगठन सुदृढीकरण अभियानअन्तर्गत तल्लो तहका अधिवेशनलाई तीव्रता दिएको हो।

कांग्रेसले १५औं नियमित महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिसक्दा पनि जिल्ला र प्रदेश अधिवेशन भने गरेको थएन । वडा, गाउँ–नगर र प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरेर कांग्रेसले सिधै केन्द्रीय महाधिवेशन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्