सरयू–कमला एक्सप्रेस रेल सेवा शनिबारबाट सञ्चालनमा आउँदै, अयोध्याका लागि जनकपुरधामबाट टिकट बुकिङ सुरु
जनकपुरधाम,१० मंसिर । जनकपुरधाम र भारतको अयोध्याबीच सञ्चालन हुन लागेको सरयू–कमला एक्सप्रेस रेल सेवाका लागि नेपाल तर्फबाट रेल्वे स्टेसनमा टिकट बिक्री सुरु भएको छ ।

शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने रेल सेवाका लागी बिहीबारदेखि जनकपुरधामस्स्थित स्टेसनबाट टिकट बिक्री सुरु गरिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको एक साताभित्रै रेल सेवा सञ्चालनमा आउन लागेको हो । रेल सेवा प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्या प्रस्थान गर्नेछ भने सोमबार अयोध्याबाट जनकपुर फर्किनेछ । यसले दुवै देशका धार्मिक पर्यटक तथा तीर्थयात्रीलाई आवागमन सहज बनाउने अपेक्षा गरिएको छ ।
रेलमा यात्राका लागि श्रेणीअनुसार ३६५ देखि १ हजार ३६० भारतीय रुपैयाँसम्म भाडा निर्धारण गरिएको छ । रेलमा १७ वटा डिब्बा रहनेछन् ।


