अफलाइन पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने ६१ वर्षीय व्यक्ति पक्राउ



काठमाडौं,१० मंसिर । अफलाइन पठाओको बहानामा यात्रुहरूको सामान डेलिभरी गरिदिने भन्दै सामान लिएर फरार हुने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा उपत्यकाबाहिरबाट आएका यात्रुहरूलाई पठाओमार्फत सामान पुर्‍याइदिने भन्दै सामान लिएर फरार हुने गरेको गुनासोपछि प्रहरीले खोजतलास गरी ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी प्रभाग गोंगबु र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले बुधबार बिहान करिब ५ बजे काठमाडौं महानगरपालिका–२६ स्थित नयाँ बसपार्कबाट एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–११ घर भई हाल काठमाडौंको बानियाटार बस्ने ६१ वर्षीय हरिबहादुर पोखरेल रहेका छन् । प्रहरीले उनलाई बा.६३ प.८३४३ नम्बरको स्कुटरसहित नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार उनले काठमाडौंको बसपार्क क्षेत्रमा आउने उपत्यकाबाहिरका विभिन्न यात्रुलाई अफलाइन पठाओमार्फत सामान गन्तव्यसम्म पुर्‍याइदिने भन्दै सामान लिने र त्यसपछि फरार हुने गरेको भन्ने जनगुनासो प्राप्त भएको थियो ।

सोही गुनासोका आधारमा प्रहरीले खोजतलास तीव्र पारेको थियो । पक्राउ परेका पोखरेलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् ।

प्रहरीले यात्रुहरूलाई अपरिचित व्यक्तिलाई विश्वासका आधारमा आफ्ना सामान जिम्मा नलगाउन तथा सामान ओसारपसार गर्दा आधिकारिक सेवा प्रदायकमार्फत मात्रै सेवा लिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्