श्रमिक ठगी प्रकरण : पक्राउ परे पूर्ब मुख्यसचिब अर्याल,म्याद थपका लागि लगियो अदालत



काठमाडौं,१० मंसिर । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। गृह मन्त्रालय स्रोतका अनुसार मलेसिया जाने नेपाली श्रमिकसँग अवैध रूपमा रकम संकलन गरी मलेसिया पठाएको प्रकरणमा उनलाई भारतबाट पक्राउ गरिएको हो।

बिहीबार (मंसिर ११) अर्याल पक्राउ परेको खबर सार्वजनिक भएको हो। उनलाई भारतको कोलकाताबाट पक्राउ गरी नेपाल ल्याउन लागिएको गृह मन्त्रालय स्रोतलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। यद्यपि, पक्राउको स्थान र समयबारे प्रहरीले औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन।

मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त रकम असुली गरी उक्त रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप अर्यालमाथि छ। उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव रहँदा भएका निर्णयलाई लिएर प्रहरीले अनुसन्धान अघि बढाएको हो।

यसअघि यही प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरसहित १० जना पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा तत्कालीन श्रम सचिव विनोद केसी तथा मन्त्रालयका अन्य उच्च अधिकारी र सम्बन्धित व्यक्तिहरू पनि छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूमाथि ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।

प्रहरीको अनुसन्धानअनुसार मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा संकलन गरिएको करिब १ अर्ब ६९ करोड रुपैयाँ मलेसिया पठाइएको आरोप छ। नेपाल र मलेसियाबीच भएको श्रमसम्बन्धी समझदारीविपरीत रकम संकलन तथा स्थानान्तरण गरिएको विषयमा अनुसन्धान भइरहेको छ।

अर्यालको पक्राउसँगै मलेसिया श्रमिक ठगी प्रकरणको अनुसन्धान थप उच्च प्रशासनिक तहसम्म पुगेको छ। पक्राउ परेका सबै व्यक्तिमाथि अनुसन्धान जारी रहेकाले आरोप पुष्टि हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्