खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु



काठमाडौं,११ कार्तिक। खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा अरू चार जना घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बराहापोखरी गाउँपालिका-५ सोह्रखानीमा सोमबार साँझ ७ बजेतिर भएको जीप दुर्घटनामा बराहापोखरी गाउँपालिका-६ का ४५ वर्षीय दक्षुमान राई, बराहापोखरी-६ कै ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका-८ की २० वर्षीया बृहस्पति राईको मृत्यु भएको हो ।

सो दुर्घटनामा बृहस्पतिकै श्रीमान् २८ वर्षीय छत्रबहादुर राई, उनकै ९ महिने बच्चा दिप्सन राई, चौदण्डीगढी नगरपालिका-८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी-६ का ३२ वर्षीया नविना राई घाइते भएका खोटाङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले जानकारी दिए । घाइतेको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार पुर्‍याइएको छ ।

जीप चालक उदपयुर चौदण्डीगढी नगरपालिका-६ का २७ वर्षीय यामबहादुर विकलाई नियन्त्रण लिएर घटनाको अनुसनधान भइरहेको प्रहरी निरीक्षक साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्