‘नदेखिएको घाउ’ ले दिन खोजेको सन्देश
काठमाडौं,३ मंसिर । चलचित्र निर्देशक समेत रहेका लेखक बेद प्रसाद भुर्तेतद्वारा प्रकाशन भएको तथा विभिन्न अनलाइन र ई–बुक माध्यमहरूमा समेत उपलब्ध सामाजिक तथा मनोवैज्ञानिक उपन्यास ‘नदेखिएको घाउ’ दोस्रो शीर्षकः ‘फर्किने बाटो’ समकालीन नेपाली समाजको जीवन्त र संवेदनशील प्रतिविम्ब बनेर आएको छ । ‘प्रेम, विश्वासघात र डिजिटल युगको एउटा अधुरो सत्य’ तथा ‘एउटा अधुरो सपना, हजारौं अधुरा सम्बन्ध’ भन्ने उपशीर्षक र कथात्मक भावहरूले नै यस कृतिको मूल मर्म र व्यापकतालाई स्पष्ट पार्छन् ।

उपन्यासले नेपाली गाउँघरको वास्तविक पीडालाई अत्यन्तै इमान्दारीका साथ उठाएको छ । गाउँमा खेतीपाती गरेर गुजारा चलाउन कति कठिन छ, मल र बीउको मूल्य बढ्दा, उत्पादनको उचित बजार नपाउँदा र कहिले खडेरी त कहिले अतिवृष्टिले बाली सखाप पार्दा किसानले भोग्नुपर्ने विवशतालाई कृतिले मार्मिक ढंगले उतारेको छ । सहकारीको ऋणको किस्ता तिर्न नसक्ने बाध्यता, खेतबारी बाँझो रहँदै जानु र गाउँमा युवा जनशक्ति अभाव हुँदै जाँदा वृद्ध आमाबुबाको काँधमा थुप्रिएको जिम्मेवारीले गाउँको फेरिँदो र संवेदनशील तस्बिर प्रस्तुत गर्छ । यही बाध्यता र उज्ज्वल भविष्यको चाहनाले छोराछोरीलाई सहर तथा परदेशतर्फ धकेलिरहेको यथार्थ उपन्यासको जगमा बलियो गरी उभिएको छ ।
सपना, पढाइ र जीविकाको सङ्घर्ष बोकेर गाउँबाट काठमाडौं छिर्ने युवाहरूको कथा यस उपन्यासको अर्को सशक्त पाटो हो । मुख्य पात्र अनुजा र सृष्टि जस्ता पात्रहरूमार्फत डेराको सानो कोठा, कोठाभाडा तिर्नुपर्ने महिनाको अन्तिम दिनको हिसाबकिताब, न्यून तलब, महँगी र पढाइसँगै काम खोज्नुपर्ने बाध्यतालाई अत्यन्तै यथार्थपरक रूपमा देखाइएको छ । आमाबुबाको दुःख नबढोस् भनेर आफ्नै अभाव र पीडा लुकाउने छोराछोरीको संवेदना तथा सहरको व्यस्त र बेमतलवी भीडभित्र एकअर्कालाई समय र वास्ता नहुने कठोर वातावरणबीच पनि मित्रता, सहकार्य र बाँच्ने साहस कसरी जोगाइन्छ भन्ने कुरा उपन्यासले सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।
‘नदेखिएको घाउ’ को सबैभन्दा धारिलो, समयसापेक्ष र सशक्त पक्ष भनेको डिजिटल युगमा देखिएको विकृति र त्यसले नारीको जीवनमा पार्ने गहिरो आघात हो । सानो मोबाइल र सामाजिक सञ्जालको स्क्रिनले टाढाका मानिसलाई जोडेपनि कसैको निजी सन्देश, तस्बिर वा व्यक्तिगत जीवन अनुमतिबिना सार्वजनिक गरिँदा कसरी कसैको जिन्दगी उजाड बन्न सक्छ भन्ने यथार्थलाई उपन्यासले गम्भीरतापूर्वक उठाएको छ ।
उपन्यासमा चरित्र हत्या र डिजिटल हिंसाको सिकार बन्नुपर्दा पीडित नारीले भोग्नुपर्ने मानसिक पीडा र समाजको दोहोरो अनुहारलाई निकै संवेदनशील ढंगले चित्रण गरिएको छ । गल्ती गर्ने र विश्वासघात गर्ने पक्ष लुक्ने वा उन्मुक्ति खोज्ने तर पीडित युवतीले नै समाजका अनावश्यक प्रश्न र टिप्पणीको सामना गर्नुपर्ने विडम्बनाविरुद्ध उपन्यासले सशक्त आवाज उठाएको छ । “कसैले गरेको अपराधको सजाय पीडितले किन भोग्नुपर्ने ? तथा “एउटी युवतीको चरित्र उसको प्रेमले निर्धारण गर्दैन… उसले भोगेको अन्याय उसको पहिचान होइन’’ भन्ने वैचारिक अडानले कृतिलाई नारी सम्मान र न्यायको पक्षमा उभिएको एक सशक्त कृतिका रूपमा स्थापित गर्छ ।सामाजिक यथार्थसँगै पारिवारिक रहस्य, पुरानो चिठी, तस्बिर र मनोवैज्ञानिक तन्तुहरूले उपन्यासलाई थप रोचक र पठनीय बनाएका छन् ।
गाउँको माटो र कृषि पीडादेखि सहरको डेरा–सङ्घर्षसम्म, र पारिवारिक मौनतादेखि सामाजिक सञ्जालले निम्त्याउने नदेखिएका घाउसम्मलाई एउटै कथासूत्रमा उनेको ‘नदेखिएको घाउ’ आजको समयको अत्यन्तै सान्दर्भिक र पठनीय उपन्यास हो । समाजका संवेदनशील मुद्दाहरूलाई मानवीय संवेदना र सकारात्मक साहसका साथ प्रस्तुत गरेको यस कृतिले पाठकलाई छुने र साहित्यिक वृत्तमा गम्भीर चर्चा पाउने बलियो आधार तयार पारेको छ ।
० नविन‘विवश’


