निर्माण व्यवसायी महासंघ, कोशीको अध्यक्षका लागि गौतमको उम्मेदवारी,निर्माण क्षेत्रका समस्या समाधान प्रमुख एजेन्डा



विराटनगर,३ मंसिर । निर्माण व्यवसाय क्षेत्रमा देखिएका आर्थिक दबाब, नीतिगत जटिलता र व्यावसायिक असुरक्षाका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धतासहित कमल प्रसाद गौतमले निर्माण व्यवसायी महासंघ, कोशी प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। आगामी नेतृत्वलाई व्यवसायीका वास्तविक समस्या समाधानमा केन्द्रित गराउने लक्ष्यसहित गौतम नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएको हो।

महासंघको १६औँ साधारण सभा तथा ९ औँ अधिवेशन मंसिर ४ देखि ६ गतेसम्म आयोजना हुँदैछ। अधिवेशन नजिकिँदै जाँदा प्रदेशका विभिन्न जिल्लामा चुनावी गतिविधि बढेका छन्। गौतम नेतृत्वको टोली व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले भोगिरहेका समस्या, अपेक्षा र सुझाव संकलनमा जुटेको छ। जिल्लास्तरबाट उठेका मुद्दालाई संस्थागत रूपमा अघि बढाउने र नेतृत्वमा पुगेपछि कार्यान्वयनयोग्य योजनाका रूपमा रूपान्तरण गर्ने समूहको लक्ष्य छ।

गौतमले निर्माण व्यवसायीको हकहित संरक्षणसँगै व्यवसायलाई मर्यादित, सुरक्षित र प्रतिस्पर्धी बनाउनु आफ्नो प्रमुख उद्देश्य रहेको बताएका छन्। संस्थालाई केवल औपचारिक गतिविधिमा सीमित नराखी सदस्यका समस्या समाधान गर्ने प्रभावकारी साझा मञ्चका रूपमा विकास गर्नुपर्ने उनको धारणा छ।

गौतम नेतृत्वको प्यानलमा प्रथम उपाध्यक्षमा लेखनाथ खत्री, द्वितीय उपाध्यक्षमा ऋषिकेश रिजाल (केशव) र तृतीय उपाध्यक्षमा दिनेश पौडेल उम्मेदवार छन्। महासचिवमा दुर्गा बहादुर बुढा मगर, नीतिगत उपमहासचिवमा योगराज दाहाल (चन्दन), आन्तरिक उपमहासचिवमा इन्द्रबहादुर कार्की, कोषाध्यक्षमा सुरेश भट्टराई तथा सहकोषाध्यक्षमा लिलाबहादुर गुरुङ रहेका छन्।

यस समूहले निर्माण व्यवसायलाई प्रभावित पारिरहेका नीतिगत तथा आर्थिक समस्यालाई आफ्नो चुनावी प्रतिबद्धताको केन्द्रमा राखेको छ। विशेषगरी स्थानीय तहले लगाउँदै आएका विभिन्न कर तथा शुल्क, निर्माण सामग्री र पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढावले व्यवसायीको लागत र नाफामा पारेको असरलाई सम्बोधन गर्न सम्बन्धित निकायसँग समन्वय र पैरवी गर्ने एजेण्डा अघि सारिएको छ।

त्यस्तै, आयोजना सञ्चालनका क्रममा व्यवसायीले सामना गर्नुपर्ने बैंक ग्यारेन्टी, बिमा, म्याद थप तथा जरिवानासम्बन्धी प्रक्रियालाई व्यावहारिक र व्यवसायमैत्री बनाउन पहल गर्ने समूहको योजना छ। बजारमा मूल्यवृद्धि भइरहँदा सम्झौताअनुसार काम सम्पन्न गर्न कठिन हुने अवस्थालाई ध्यानमा राख्दै मूल्य समायोजन र आयोजनाको कार्यान्वयनमा देखिने अवरोध समाधानका लागि सरकारी तहमा प्रभावकारी आवाज उठाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

चुनावी एजेण्डामा संगठनको आन्तरिक सुधार र संस्थागत क्षमता विकासलाई समेत महत्त्व दिइएको छ। निर्माण व्यवसायमा सूचना प्रविधिको प्रयोग विस्तार गर्ने, व्यवसायी तथा नेतृत्व तहको व्यवस्थापकीय दक्षता बढाउने र सदस्यहरूका लागि आवश्यक तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने योजना समूहले सार्वजनिक गरेको छ। साना तथा ठूला दुवै तहका व्यवसायीले संस्थाबाट समान रूपमा सहयोग र प्रतिनिधित्व पाउने वातावरण निर्माण गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।

निर्माण क्षेत्रमा देखिएका समस्या कुनै एक व्यवसायी वा जिल्लामा मात्र सीमित नरहेकाले सामूहिक पहल र संस्थागत दबाब आवश्यक रहेको गौतम समूहको निष्कर्ष छ। त्यसैले प्रदेशभरका व्यवसायीलाई एउटै साझा एजेण्डामा एकताबद्ध गर्दै सरकार तथा सम्बन्धित निकायसमक्ष उनीहरूका माग प्रभावकारी रूपमा पुर्‍याउने रणनीति समूहले अघि सारेको छ।

अधिवेशनमा ५१८ भन्दा बढी निर्माण व्यवसायी सहभागी हुने अपेक्षा गरिएको छ। नयाँ नेतृत्व चयनका साथै प्रदेशको निर्माण व्यवसाय क्षेत्रले भोगिरहेका विद्यमान समस्या, नीतिगत चुनौती र भावी रणनीतिबारे छलफल हुने भएकाले यस अधिवेशनलाई विशेष महत्त्वका साथ हेरिएको छ।

आर्थिक दबाब, प्रशासनिक जटिलता र व्यावसायिक जोखिमबीच गुज्रिरहेको निर्माण क्षेत्रले नयाँ नेतृत्वबाट ठोस पहलको अपेक्षा गरिरहेका बेला गौतम समूहले प्रस्तुत गरेका एजेण्डा र प्रतिबद्धता चुनावी प्रतिस्पर्धाका महत्त्वपूर्ण आधार बन्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्