मलेसिया श्रमिक ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ
काठमाडौं,३ मंसिर । मलेसियामा रोजगारीका लागि जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी तथा तत्कालीन सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल रहेका छन्। त्यस्तै, मन्त्रालयकी तत्कालीन उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेकी छन्।
सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी तथा कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगी र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको हो।
मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा श्रमिकबाट ठगी गरी संकलन गरिएको रकममध्ये अमेरिकी डलर ८ करोड ३७ लाख ४३९ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० गरी नेपाली रुपैयाँ १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा मलेसिया पठाउने निर्णय प्रक्रियामा उनीहरूको संलग्नता रहेको आरोप छ।
सीआईबीको विज्ञप्तिअनुसार सम्झौताको दायरा र कानुनी प्रक्रिया विपरीत अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गराउने निर्णय गरिएको तथा श्रमिकमाथि भएको संगठित ठगीमा कानुनी उपचारको पहल नगरी गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने कार्यमा उनीहरू संलग्न रहेको आरोप छ।
यस प्रकरणमा पक्राउ परेका व्यक्तिहरूले आफ्नो पदीय जिम्मेवारी र कर्तव्यविपरीत काम गरेको तथा संगठित समूहलाई लाभ पुर्याउने उद्देश्यले निर्णय प्रक्रियामा भूमिका खेलेको आशंकामा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएपछि सीआईबीले सोही दिन काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका सबैमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।


