जति प्रयास गरे पनि पार्टी बिभाजन रोक्न नसकिएको कांग्रेस नेता लेखकको गुनासो
काठमाडौँ,२ मंसिर । नेपाली कांग्रेसका इतर पक्षका नेता रमेश लेखकले पार्टी विभाजन रोक्न आफूहरूले अन्तिम समयसम्म प्रयास गरे पनि सफल हुन नसकेको बताएका छन् ।

कञ्चनपुरमा आयोजित इतर पक्षको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पार्टी एकता कायम राख्नका लागि दुवै पक्षका अधिवेशन प्रक्रिया रोक्दै संवाद गर्न आग्रह गर्दा पनि सफल नभएको बताए ।
वडादेखि केन्द्रसम्मका अधिवेशन स्थगित गरेर सहमतिको वातावरण बनाउन आग्रह गर्दा पनि सम्भव नभएको बताए ।उनले भने, ‘अझै पनि नेपाली कांग्रेसमा एकता हुन सक्छ, आआफ्ना अधिवेशनहरू रोकौँ, फेरि छलफल सुरु गरौँ र दुई वटा कांग्रेस बन्न नदिने अवस्था सिर्जना गरौँ भनेर हामीले आग्रह गरेका थियौँ। तर हाम्रो निकै प्रयत्न र प्रयासका बाबजुद पनि पार्टीलाई एकीकृत गर्न सकिएन ।’
पार्टीको अर्को पक्षले केन्द्रीय महाधिवेशन सम्पन्न गरी सभापति, केन्द्रीय कार्यसमिति तथा पदाधिकारी चयन गरिसकेको अवस्थामा आफूहरू पनि छुट्टै सङ्गठन निर्माण गर्न बाध्य भएको बताए ।
पार्टीभित्र न्यायका लागि सङ्घर्ष गर्न र जनतामाझ लोकतन्त्रको सम्बर्धन गर्न वास्तविक नेपाली कांग्रेसको प्रतिनिधित्व गर्ने सङ्गठन निर्माणमा आफूहरू जुटेको बताए ।
उनले वडा, नगरपालिका, गाउँपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र तथा सङ्घीय निर्वाचन क्षेत्र हुँदै सङ्गठन विस्तार गरेर जिल्ला अधिवेशनसम्म आइपुगेको बताए। जिल्ला अधिवेशनपछि सातै प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गर्ने र मंसिर २१ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने तयारी रहेको बताए ।
पार्टी विभाजनको अवस्थामा निर्वाचन गर्दा थप कटुता र वैमनस्यता बढ्न सक्ने भएकाले निर्वाचनको सट्टा सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयास गरिएको उनले बताए ।सङ्ख्याभन्दा पार्टीका मान्यता, भावना, सिद्धान्त र आदर्श महत्त्वपूर्ण रहेको बताए। आफूहरू पार्टीभित्रको अन्यायविरुद्ध र सत्यका पक्षमा उभिएको भन्दै सत्यका लागि सङ्घर्ष गर्नेहरू कहिल्यै पराजित नहुने दाबी गरे।


