सरकारविरुद्ध लाखौं कार्यकर्ता सडकमा उतार्ने एमाले अध्यक्ष ओलीको चेतावनी



काठमाडौं,२ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

बुधबार काठमाडौंमा ष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै ओलीले सरकारले प्रतिशोध साँध्न सक्ने, गिरफ्तारी गर्न सक्ने तथा आक्रमणसमेत गर्न सक्ने भन्दै सचेत रहन आग्रह गरे।

उनले आफूलाई पक्राउ गरिए एमाले चुप लागेर नबस्ने चेतावनी दिँदै लाखौँ कार्यकर्ता सडकमा उतार्ने दाबी गरे। यसअघि केही हजारको संख्यामा कार्यकर्ता सडकमा आएको उल्लेख गर्दै अब लाखौँको संख्यामा प्रदर्शन हुने उनको भनाइ थियो।उनले भने– ‘पहिले गिरफ्तार हुँदा सङ्ख्यामा केही कमी भयो होला । अबको प्रतिरोध लाखका लाख विरोधमा उत्रिनु पर्छ । सबै तयार हुनु । यो सरकारले कुन बेला के गर्छ भर छैन ।’

आफूहरूलाई असंवैधानिक हिसाबले हटाएको भन्दै ओलीले एमाले संवैधानिक बाटोबाट फेरि सत्तामा पुग्ने दाबी गरे। सरकारले कहीँ पनि थिति र विधिमा काम नगरेको बताउँदै ओलीले सरकारको अराजकताविरुद्ध आन्दोलित हुन अपिल समेत गरेका छन्।

उनले एमाले ‘हुतिहारा’को पार्टी नभएर जिउँदा मान्छेको पार्टी भएको पनि बताए ।

त्यस्तै, नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) ले आफू, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई थुनिदिने कबोल गरेको ओलीले दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्