विभिन्न ब्रान्डका पटाकाजन्य विस्फोटक पदार्थ तथा म्याद गुज्रिएका चकलेट र बिग्रिएको नरिवल बरामद



काठमाडौं, कात्तिक १७ । तिहारमा भाइटीकाका लागि प्रयोग हुने भाइ मसलामा म्याद गुज्रिएका चकलेट बिक्री वितरण गरेको तथा अवैध रूपमा पटाकाजन्य विस्फोटक पदार्थ भण्डारण गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा भारतको मोतिहारी घर भई काठमाडौं महानगरपालिका–६, तिनचुली चोकस्थित एक घरमा डेरा गरी बस्ने २९ वर्षीय रमन कुमार पटेल रहेका छन् ।

कात्तिक १६ गते दिउँसो करिब ३ बजे अवैध पटाका तथा म्याद गुज्रिएका भाइ मसला बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पटेल बस्दै आएको घरमा खानतलासी गरेको थियो । सो क्रममा विभिन्न ब्रान्डका पटाकाजन्य विस्फोटक पदार्थ तथा म्याद गुज्रिएका चकलेट र बिग्रिएको नरिवल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद सामग्रीमा ‘क्र्याकलिङ’ लेखिएका ९५ र २५० प्याकेट, ‘मोरी’ १३८ प्याकेट, ‘पप/पप जिन्युइन’ २१ प्याकेट, ‘बलाजिज’ ४१ प्याकेट, ‘पेन्टा स्काई फ्ल्यास’ ४३ प्याकेट, ‘कलरकोट’ ३९ प्याकेट, ‘लन्डन ड्रिम्स’ १५ प्याकेट, ‘सिल्भर टर्चर’ १० प्याकेट, ‘ग्लिटर रेन’ पाँच प्याकेट, ‘स्पिनर बम’ १० प्याकेट र ‘क्लासिक बम’ १० प्याकेट रहेका छन् ।

त्यसैगरी, ‘इलेक्ट्रिक रड’ छ पिस, ‘सुप्रिम’ २३ पिस, ‘सुप्रिम फायर वर्क्स’ दुई पिस, ‘पप मिकी माउस’ २१ पिस तथा ‘कोब्रा किङ’ २२ प्याकेट पनि बरामद गरिएको छ ।

भाइ मसलाका लागि राखिएका सामग्रीमध्ये ‘कोटको’ लेखिएको चकलेट १४० प्याकेट, तिहार स्पेसल भाइ मसला ४९० प्याकेट, भाइ मसला कचौरा ३१५ प्याकेट, बिग्रिएको नरिवल एक किलो र चकलेट १० किलो बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पटेल र बरामद सामग्री नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्