कांग्रेसले मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्ने
काठमाडौं,१२ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनता र पार्टीलाई जोड्नका लागि मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गरिने बताएका छन्।

नयाँ कार्यसमिति सदस्यहरूको शपथ ग्रहणपछि पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा सभापति थापाले ‘हामी तयार छौँ’ भन्ने सन्देशसहित मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गरिने बताएका हुन्। उनले छिटै पार्टीको पूर्ण बैठक बसेर रीतपूर्वक सबैको धारणा सुन्ने र त्यसका आधारमा ४ वर्षको क्यालेन्डर बनाएर अनुशासित रूपमा काम अगाडि बढाइने उल्लेख गरे। प्रतिपक्षको मुख्य जिम्मेवारी सरकारमाथिको निगरानी गर्नु भएकाले कानुनको शासन उल्लङ्घनविरुद्ध कांग्रेसले सशक्त रूपमा उभिएर यो भूमिका निर्वाह गर्ने उनको भनाइ छ।
त्यस्तै, थापाले तिहार र छठलगत्तै लिडरसिप एकेडेमी, इलेक्सन ब्युरो र गभर्नेन्स इन्स्टिच्युटले काम सुरु गर्ने जानकारी दिए। नेतारकार्यकर्ताको रुचिअनुसार कार्यविभाजन गरिने र सहमहामन्त्रीहरूलाई स्पष्ट कार्ययोजनाका साथ आवश्यक जिम्मेवारी तोकिने उनको भनाइ छ।
सभापति थापाले हलभित्र सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रमहरू अब नगर्ने घोषणा गरेका छन्। सरसफाइ, विपन्नलाई सहयोग वा अन्य समुदायसँग प्रत्यक्ष जोडिने रचनात्मक कार्यक्रमहरू आयोजना गरिएमा मात्र सहभागी हुन उनले निर्देशन दिएका छन्।


