‘मुक्तक साधक समाज’ काे प्रथम मुक्तक वाचन कार्यक्रम सम्पन्न



काठमाडौं,८ कार्तिक । मुक्तक विधाको प्रवर्द्धन,विकास र विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको ‘मुक्तक साधक समाज’को प्रथम मुक्तक वाचन कार्यक्रम साहित्यकार प्रमोद नेपालको सभापतित्वमा आज सम्पन्न भएको छ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रम संयोजक, मुक्तककार तथा मुक्तक अभियन्ता मदन नेपालले मुक्तक सुन्ने–सुनाउने उपयुक्त मञ्चको अभाव तथा मुक्तक लेखन सिक्ने अवसरको कमीलाई मध्यनजर गर्दै समाजको अभियान सुरु गरिएको जानकारी दिनुभयो। पाँच जनाबाट सुरु भएको अभियानमा हाल २० जना आबद्ध भइसकेको उल्लेख गर्दै उहाँले सबैको सक्रियताका कारण पहिलो कार्यक्रम आयोजना गर्न सम्भव भएको बताउनुभयो। उहाँले कार्यक्रममा एउटा मुक्तकसमेत वाचन गर्नुभएको थियो।

कार्यक्रमका विशेष अतिथि वरिष्ठ गजलकार तथा मुक्तककार ज्ञानुवाकर पौडेलले समाजको पहलको प्रशंसा गर्दै मुक्तक विधाप्रति साहित्यकारहरूको आकर्षण बढ्दै गएको बताउनुभयो। गजलकारहरूबीच देखिने विवादका कारण पनि कतिपय स्रष्टा मुक्तक विधातर्फ आकर्षित भइरहेको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमले मुक्तकको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी,अर्का विशेष अतिथि वरिष्ठ साहित्यकार विजयध्वज थापाले मुक्तक विधाको उन्नयन र प्रवर्द्धनका लागि यस्ता संस्थाको आवश्यकता रहेको बताउनुभयो।

कार्यक्रममा गीतकार सुभाषचन्द्र ढुंगेलले मुक्तक विधाबारे चर्चा गर्दै चारवटा मुक्तक वाचन गर्नुभयो। सभाध्यक्ष साहित्यकार प्रमोद नेपालले एक्काइस जनाको साझा प्रयासबाट अघि बढेको समाजले मुक्तक विधालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। दसैँको समयमा समेत उपस्थित भएर कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उहाँले दुई चरणमा गरी चारवटा मुक्तक वाचन गर्नुभयो।

साहित्यकार डा. भरत भट्टराईले मोतीराम भट्टका मुक्तक वाचन तथा विश्लेषण गरेपछि सुरु भएको कार्यक्रमको सञ्चालन साहित्यकार राजेशमान केसीले गर्नुभएको थियो।

करिब ४० जना साहित्यकारको उपस्थिति रहेको कार्यक्रममा विभिन्न मुक्तककारहरूले आफ्ना सिर्जना वाचन गरेका थिए। मुक्तक सुन्ने, सुनाउने, लेखनसम्बन्धी ज्ञान आदानप्रदान गर्ने तथा स्रष्टाहरूबीच साहित्यिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित कार्यक्रमले मुक्तक विधाको प्रवर्द्धनमा नयाँ पहल गरेको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्