विवादास्पद अडियो प्रकरण : सांसद सुनारले गरे अस्वीकार, आफूमाथि निरन्तर प्रहार भइरहेको दाबी
काठमाडौं,२७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले सांसद खगेन्द्र सुनारलाई विवादास्पद अडियो प्रकरणमा २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ ।

बागमती प्रदेशकी पूर्वराज्यमन्त्रीसँग आपत्तिजनक लाञ्छना र धम्कीपूर्ण भाषा प्रयोग गरेको अडियो सार्वजनिक भएपछि पार्टीले आन्तरिक छानबिन सुरु गरेको हो ।
स्पष्टीकरण आएपछि थप कारबाही अगाडि बढाइने आयोगले जनाएको छ ।सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन पनि रोक लगाइएको छ ।
उता सुनारले भने महिलासँगको आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटो भएको बताएका छन् ।
सांसद सुनारले भने प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न गरेदेखि नै आफूमाथि निरन्तर प्रहार भइरहेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ । आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन् । एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन् ।’
आफूमाथि हुने छानबिनमा पार्टी र सरकारलाई सहयोग गर्न पनि आफू तयार रहेको सांसद सुनारले बताएका छन् । उनले भनेका छन्, ‘ममाथि उठेका प्रत्येक प्रश्नको, आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई म हार्दिक अपिल गर्न चाहन्छु । तर भ्रष्टाचारविरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार, घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु । यस्ता खालका भ्रममा नपर्न म आम नागरिकहरूलाई अपिल गर्न चाहन्छु । र, ममाथि हुने छानबिनको लागि म सबैलाई सघाउन तयार छु ।’


