‘ह्विस्पर मिसेस नेपाल वर्ल्ड-२०२६’ को ग्रान्ड फिनाले आगामी कात्तिक १४ गते



काठमाडौं,२६ असोज । ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६ का प्रतियोगीहरू आइतबार राति आयोजित ‘द ग्ल्याम नाइट’ मा आकर्षक पहिरनसहित र्‍याम्पमा प्रस्तुत भएका छन्। विवाहित महिलाहरूको सौन्दर्य, आत्मविश्वास, व्यक्तित्व र फेसनलाई प्रवर्द्धन गर्ने उद्देश्यले रिबन इन्टरटेनमेन्ट प्रालिले प्रतियोगिताअन्तर्गत उक्त फेसन शो आयोजना गरेको हो।

आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाका अनुसार ‘द ग्ल्याम नाइट’ प्रतियोगीहरूलाई आफ्नो प्रतिभा, शैली, आत्मविश्वास र प्रस्तुति क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो।

कार्यक्रममा ख्यातिप्राप्त अभिनेता राजेश हमाल, रमेश उप्रेती, जितु नेपाल, प्रमोद अग्रहरी, अभिनेत्री रेखा थापा, पूजा शर्मा, सुपुष्पा भट्ट तथा गायक आनन्द कार्कीलगायतका सेलिब्रेटीहरूको उपस्थिति थियो। कार्यक्रममा प्रतियोगीहरूले ब्राइडल, निभिया र गाउन गरी तीनवटा सिक्वेन्समा र्‍याम्प वाक गरेका थिए।

ब्राइडल सिक्वेन्समा प्रतियोगीहरूले परम्परागत दुलही पहिरनमार्फत नेपाली संस्कृति, सौन्दर्य र आकर्षण प्रस्तुत गरे। निभिया सिक्वेन्समा सौन्दर्य तथा व्यक्तिगत हेरचाहसम्बन्धी ब्रान्ड प्रवर्द्धनलाई फेसनसँग जोडिएको थियो। त्यस्तै, गाउन सिक्वेन्समा प्रतियोगीहरूले आफ्नो व्यक्तित्व, आत्मविश्वास र र्‍याम्पमा प्रस्तुत हुने क्षमता प्रदर्शन गरेका थिए।

कार्यक्रममा अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापा, पूजा शर्मा र सुपुष्पा भट्टले प्रतियोगिताका विजेताले पहिरिने ताज सार्वजनिक गरेका थिए। गायक आनन्द कार्कीले आफ्ना चर्चित गीत प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरे भने हास्य कलाकार जितु नेपालले समसामयिक विषयमा हास्यव्यङ्ग्य प्रस्तुत गर्दै दर्शकलाई हँसाएका थिए।

ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६ को तयारी तथा प्रवर्द्धनात्मक गतिविधिअन्तर्गत आयोजित ‘द ग्ल्याम नाइट’ ले विवाहित महिलाहरूको आत्मविश्वास, पहिचान र व्यक्तित्व विकासलाई प्रोत्साहन गर्ने आयोजकको विश्वास छ।

रिबन इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दै आएको मिसेस नेपाल वर्ल्ड विवाहित महिलाहरूलाई आफ्नो प्रतिभा प्रदर्शन, व्यक्तित्व विकास तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्ने सौन्दर्य प्रतियोगिता हो।

यस वर्षको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जन प्रतिस्पर्धामा छन्।

ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६ को ग्रान्ड फिनाले आगामी कात्तिक १४ गते  काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजना हुने आयोजकले जनाएको छ। प्रतियोगिताबाट चयन हुने मिसेस नेपाल वर्ल्ड विजेताले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्।

अश्विनी झाको कोरियोग्राफीमा आयोजना हुने प्रतियोगिताकै मञ्चबाट मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र मिसेस कोस्मोका विजेतासमेत चयन गरिनेछ। यी उपाधिका विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्