समुद्री सतहबाट करिब ५५ सयदेखि ६५ सय मिटरको उचाईबाट सुरु भएको थियो बूढीगण्डकी बाढी



काठमाडौं,२६ असोज । गोरखाको बूढीगण्डकी नदीमा आएको ठूलो बाढीको मुख्य स्रोत क्षेत्र समुद्री सतहबाट करिब ५५ सयदेखि ६५ सय मिटरको ‘अत्यधिक उचाइमा’ रहेको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले आइतबार (असोज २५) राति सार्वजनिक गरेको घटनाको ‘स्थिति प्रतिवेदन–१’ मा उक्त भूभागबाट पहिरो वा हिमपहिरो सुरु भई तलतिर खसेको उल्लेख छ । ३५ सय मिटरभन्दा बढीको ठाडो उचाइ पार गरेर त्यो स्यार खोलानजिकको भूभागमा खसेको प्रतिवेदनमा जनाइएको छ ।

“यस घटनाको मुख्य स्रोत क्षेत्र (फेलुअर जोन) समुद्र सतहबाट करिब ५,५०० देखि ६,५०० मिटरको अत्यधिक उचाइमा रहेको छ, जहाँबाट पहिरो वा हिमपहिरो सुरु भई तलतिर खस्दै ३,५०० मिटरभन्दा बढीको ठाडो उचाइ पार गरेर स्यार खोलानजिकै २,००० देखि २,८०० मिटरको उचाइमा पुगेको देखिन्छ,” प्रतिवेदनमा भनिएको छ ।

बूढीगण्डकी र स्यार खोलाको तल्लो उपत्यका क्षेत्र समुद्र सतहबाट करिब १४ देखि २८ मिटरको उचाइमा पर्ने केन्द्रले जनाएको छ । “जहाँ चुम्चेत, चुम्लिङ, रिप्चेत र च्याउल जस्ता मानव बस्तीहरू रहेका छन्,” केन्द्रले भनेको छ ।

उक्त क्षेत्रको माथिल्लो भागमा हिमाली चुचुराहरू ५६ सयदेखि सात हजार मिटरभन्दा माथिसम्म रहेको केन्द्रले उल्लेख गरेको छ ।

उक्त पहिरो वा हिमपहिरोपश्चात् बाढी सुरु भएको स्थान गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्जेनजिक स्यार खोला भएको केन्द्रको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ ।

स्यार खोला बूढीगण्डकीको सहायक नदी हो । त्यहीँबाट ‘असामान्य’ बाढी आएको सूचना प्राप्त भएको केन्द्रले जनाएको छ ।

“(असोज २५) बिहान करिब ०६ः०० बजे बाढी पूर्वानुमान महाशाखामा गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–६, तुम्जेनजिक बूढीगण्डकीको सहायक नदी स्यार खोलातर्फबाट असामान्य बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको थियो,” केन्द्रले भनेको छ, “प्रारम्भिक सूचना तथा उपलब्ध भू–उपग्रह तस्बिरको विश्लेषणबाट हिमाली क्षेत्रमा सिर्जित पहिरोले स्यार खोला थुनिन गई अस्थायी अवरोध वा प्राकृतिक बाँध बनेको र त्यससँग सम्बन्धित पानीको आकस्मिक बहाव आएको देखिएको छ ।”

यस घटनाको मूल कारण पुष्टि गर्न विस्तृत भू–आकृतिक, भू–उपग्रह तथा अरू उपलब्ध तथ्यको थप विश्लेषण आवश्यक रहेको र त्यो गर्ने कार्य भइरहेको केन्द्रले स्पष्ट पारेको छ ।

सेन्टिनेल–२ स्याटेलाइट तस्बिरमा नेपालको उत्तरी हिमाली भेग (च्याउल, देङ, चुम्चेत र रिप्चेत आसपास)मा यही अक्टोबर ६ देखि ११ बीच भएको भौगोलिक तथा मौसमी परिवर्तन देखिएको केन्द्रले जनाएको छ ।

“६ अक्टोबरको पहिलो तस्बिरमा मुख्य खोँच र डाँडाहरूमा रातो वनस्पति तथा छरिएको हिमपात मात्र देखिन्छ । तर, ११ अक्टोबरको दोस्रो तस्बिरमा भने कालो ड्यास रेखाभित्रको क्षेत्रमा व्यापक हिमपातपछि माथिल्लो भेगबाट ठूलो हिमपहिरो वा लेदोसहितको पहिरो (डेब्रिस फ्लो) खसेर तल्लो उपत्यकातर्फ बगेको स्पष्ट कालो धब्बा र बहाव रेखा (ट्रेल) देख्न सकिन्छ,” केन्द्रले भनेको छ ।

यसले दुई मितिको बीचमा उक्त उच्च हिमाली भागमा भीषण गेग्य्रान बहाव वा हिमपहिरोको घटना घटेको र त्यसले तल्लो तटीय क्षेत्रसम्म प्रभाव पारेको पुष्टि गर्ने केन्द्रले जनाएको छ ।

“६ अक्टोबरको तस्बिरमा कालो रेखाभित्रको माथिल्लो भागमा हल्का हिउँ र चट्टानी ढलान मात्र देखिन्छ,” केन्द्रले भनेको छ, “११ अक्टोबरको तस्बिरमा माथिल्लो भागमा व्यापक नयाँ हिमपात भएको छ र सोही उच्च भागबाट ठूलो हिमपहिरो वा चट्टानी पहिरो सुरु भएको देखिन्छ ।”

अक्टोबर ११ को तस्बिरमा माथिल्लो हिमशिखरबाट एउटा गाढा कालो रेखा (ट्र्याक) सुरु भएर ठाडो खोँच हुँदै तलतिर तीव्र गतिमा बगेको देखिने केन्द्रले जनाएको छ । “यो कालो धब्बाले भीषण हिमपहिरो वा लेदो पहिरो (डेब्रिस फ्लो)ले बाटोका वनस्पति र माटो बढारेर लगेको संकेत गर्छ,” केन्द्रले भनेको छ ।

उक्त लेदो चुम्लिङ र रिप्चेतनजिकै रहेको मुख्य नदीको दोभानमा पुगेर थुप्रिएको केन्द्रले जनाएको छ । “तल्लो उपत्यकामा बनेको यो गाढा गेग्य्रानको थुप्रोले केही समयका लागि नदीको प्राकृतिक बहावमा बाधा पुर्‍याएको वा थामेको सम्भावनालाई समेत संकेत गर्छ,” केन्द्रले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्