प्रधानमन्त्री शाहसहित को-को जाँदैछन् संयुक्त राष्ट्र संघ महासभामा ?



काठमाडौं,२३ भदौ । संयुक्त राष्ट्र संघ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने भएको छ

प्रतनिधिमण्डलमा प्रधानमन्त्री शाह, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन लगायत टोली सहभागी हुने प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

टोलीमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्र संघ महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, शिष्टाचार महापाल कुमारराज खरेल, मन्त्रालयका दुई उपसचिव र एक शाखा अधिकृत पनि जाने परराष्ट्र स्रोतले जनाएको छ ।

त्यस्तै प्रधानमन्त्री कार्यालयका प्रमुख सल्लाहकार बेनका अतिरिक्त प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार तथा प्रधानमन्त्रीको मिडिया टिममा रहेका एक स्वकीय उपसचिव पनि जाँदै छन् ।त्यस्तै प्रधानमन्त्रीको सुरक्षा टोलीमा रहेका नेपाली सेनाका दुई सैनिक अधिकारी तथा एक जना नेपाल प्रहरीका अधिकृत पनि भ्रमण टोलीमा सहभागी हुने स्रोतले जानकारी दिएको छ ।

परराष्ट्रमन्त्री खनाल, सचिव राई तथा महाशाखा प्रमुख राईसहित टोली २० सेप्टेम्बरमा न्युयोर्क प्रस्थान गर्ने छ । परराष्ट्रमन्त्री खनाल महासभामा हुने विभिन्न साइडलाइन मिटिङमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री शाह भने २३ सेप्टेम्बरमा नेपालबाट प्रस्थान गर्नेछन् भने उनले २४ सेप्टेम्बरमा महासभामा सम्बोधन गर्ने छन् ।

२४ सेप्टेम्बरका दिन दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म अवधिमा प्रधानमन्त्री शाहले राष्ट्र संघको महासभालई सम्बोधन गर्ने स्रोतले जानकारी दिएको छ ।

सोही दिन महासभालाई संसारका २४ राज्य प्रमुख/सरकार प्रमुख वा परराष्ट्रमन्त्रीले सम्बोधन गर्ने र प्रधानमन्त्री शाहको पालो १७औं नम्बरमा रहेको पनि स्रोतले जानकारी दिएको छ । त्यसो हुँदा महासभामा उनले सम्बोधन गर्ने समय अपराह्न ३ देखि ९ बजेभित्र हुने बताइएको छ ।

सुरुमा राष्ट्र संघको महासभामा परराष्ट्रमन्त्री खनालको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने गरी मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको थियो ।

तर, रसुवा बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री शाह नै महासभामा सहभागी हुन लागेका हुन् ।

खासगरी रसुवा बाढी जलवायु परिवर्तनको नाकारात्मक प्रभाव स्वरूप आएका कारण नेपालले विश्व समुदायबाट त्यसको क्षतिपूर्ति पाउनुपर्ने विषयलाई प्रधानमन्त्रीले महासभामा उठाउने तयारी गरेको स्रोतले जानकारी दियो ।

त्यस अवसरमा नेपालले जलवायु परिवर्तन सम्बन्धी विभिन्न साइडलाइन कार्यक्रम पनि राखेको स्रोतले बतायो । तर, ती बैठकमा भने प्रधानमन्त्री सहभागी हुने छैनन् ।

प्रधानमन्त्री शाह २४ तारिखमा सम्बोधन गरेपछि २५ तारिखमै नेपाल फर्कने पनि स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्