पवित्र लुम्बिनी सहकारीको १७औँ साधारण सभा सम्पन्न, टेकराज पोखरेलको अध्यक्षतामा नयाँ समिति निर्विरोध



काठमाडौं,२२ भदौ । पवित्र लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंस्थित क्वालिटी ब्याङ्क्वेटमा सम्पन्न साधारण सभाले टेकराज पोखरेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ।

साधारण सभाबाट उपाध्यक्षमा हेमन्त घिमिरे, सचिवमा मणिराम अधिकारी र कोषाध्यक्षमा रुद्र पोखरेल निर्विरोध निर्वाचित भएका छन्। सञ्चालक समिति सदस्यमा दिवाकर पराजुली, हरिप्रसाद पोखरेल, तुलसीराम भण्डारी, अरुण सेजवाल तथा महिला सदस्यमा लक्ष्मी भण्डारी पौडेल निर्विरोध चयन भएका छन्।

त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा बाबुराम रायमाझी तथा सदस्यमा मुकुन्द घिमिरे र केशव खनाल निर्विरोध निर्वाचित भएका छन्।
संस्थाका अध्यक्ष टेकराज पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वअर्थमन्त्री रामेश्वर खनाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। संस्थाका सचिव कृष्णप्रसाद घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा लुम्बिनी तन्दुरी व्यवसायी संघका अध्यक्ष सुरज पोखरेल, संस्थाका सल्लाहकार टीकाराम पोखरेल तथा पूर्वसल्लाहकारहरू निमप्रसाद भण्डारी, नरेशकुमार अधिकारी, मोतिराज खनाल, बाबुराम रायमाझी र बालकृष्ण घिमिरेलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी संस्थाका व्यवस्थापक टीकाराम पौडेल, पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न उपसमितिका संयोजक तथा सदस्य, शेयर सदस्य, पत्रकार, कलाकार तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्वअर्थमन्त्री खनालले सहकारीहरूको भीडमा पनि पवित्र लुम्बिनी बचत तथा ऋण सहकारी संस्था चुस्त, दुरुस्त र मजबुत अवस्थामा रहेको बताउनुभयो। उहाँले नवनिर्वाचित समितिले संस्थाको गरिमालाई थप उचाइमा पुर्‍याउँदै सदस्यहरूको हितमा प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिँदै सहकारी संस्थाले सुशासन, पारदर्शिता र सदस्य हितलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष मणिराम अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो। लुम्बिनी तन्दुरी व्यवसायी संघका अध्यक्ष सुरज पोखरेलले ‘पवित्र लुम्बिनी’ नामजस्तै संस्थाको काम र गतिविधि पनि पवित्र, व्यवस्थित र विश्वासिलो रहेको बताउनुभयो।

साधारण सभामा संस्थाको वर्तमान अवस्था, आर्थिक तथा संस्थागत प्रगति, आगामी योजना तथा सहकारीको थप विकासका विषयमा छलफल गरिएको थियो। सभाले संस्थालाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

नवनिर्वाचित अध्यक्ष टेकराज पोखरेल नेतृत्वको समितिले सदस्यहरूको हितलाई पहिलो प्राथमिकतामा राख्दै संस्थाको संस्थागत विकास, सुशासन र पारदर्शितालाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्