प्रधानमन्त्री बालेनले भने– ‘आदरणीय आमाबुबाहरु, हामीमाथि भरोसा राख्नुहोस्…’



काठमाडौं,२० भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित ज्येष्ठ नागरिकहरूलाई आफूहरूलाई एक्लो नठान्न आग्रह गर्दै राज्य र सरकार सधैं उनीहरूको साथमा रहेको बताएका छन्।

बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको घटनालाई आशाको सन्देशका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री शाहले खोज तथा उद्धार कार्य अझै पनि निरन्तर जारी रहेको बताएका छन्।‘यो खबर, खोज तथा उद्धारमा हामी अझै डटेर लागिरहेका छौं भन्ने सन्देश पनि हो,’ प्रधानमन्त्री शाहले शनिबार सांझ सामाजिक सञ्जालमार्फत भनेका छन्।

उनले यसअघि पनि चन्द्रिका श्रेष्ठकै उमेर समूह तथा त्यसभन्दा माथिका धेरै ज्येष्ठ नागरिकलाई प्रभावित क्षेत्रबाट उद्धार गरिएको उल्लेख गरेका छन्।
बाढीका बेला आफ्नो ज्यानको समेत परवाह नगरी वृद्धवृद्धाले काँपिरहेका हातले नातिनातिनालाई च्यापेर सुरक्षित स्थानतर्फ दौडिएको दृश्य स्मरण गर्दै प्रधानमन्त्री शाहले सामान्य अवस्थामा लौरो नटेकी दुई पाइला हिँड्न नसक्ने वृद्धवृद्धामा समेत सन्तान बचाउने असाधारण साहस देखिएको बताएका छन्।

उनका अनुसार बाढी आउनुअघि आफ्नै घरआँगनमा बसेर परिवारको दैनिकी नियालिरहेका र चौतारीमा छिमेकीसँग दुःख–सुख साटिरहेका ज्येष्ठ नागरिकहरू अहिले घर, आँगन र परिचित परिवेशबाट विस्थापित हुनुपरेको छ।
‘त्यो बिहान भोटेकोशीको विनाशकारी बाढीले एकैछिनमा धेरै कुरा खोसेर लग्यो,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘कसैले आफ्नै आँखाअगाडि छोराछोरी र नातिनातिना बगेको हेर्न विवश हुनुपर्‍यो होला, कसैले जीवनसाथी गुमाएर पूर्णतः एक्लो हुनुपर्‍यो होला।’

जिन्दगीभर पसिना बगाएर जोडेको घर, खेतबारी तथा सन्तानसरह माया गरेर हुर्काएका पशुपंक्षीसमेत क्षणभरमै बाढीले बगाएको उल्लेख गर्दै उनले अहिले विस्थापित ज्येष्ठ नागरिकलाई सरकारी व्यवस्थापनमा रहेका अस्थायी शिविर र होल्डिङ सेन्टरमा राखिएको बताएका छन्।

उनका अनुसार होल्डिङ सेन्टरमा राहत, स्वास्थ्य सेवा तथा जीवनयापनका लागि आवश्यक सुविधा उपलब्ध गराइएको छ। नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान र विदुर भवन बाढीबाट क्षतिग्रस्त भएपछि त्यहाँ रहेका सात जना ज्येष्ठ नागरिकलाई काठमाडौंको म्हैपीस्थित नेपाल सिनियर केयरमा तथा १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको छ।

उनीहरूलाई हिँडडुलका लागि आवश्यक ह्वीलचियर र वाकरसमेत उपलब्ध गराइएको तथा मानसिक आघात र शारीरिक कष्ट कम गर्न विशेष टोलीमार्फत निरन्तर स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।

अस्थायी बसाइलाई सकेसम्म छोटो बनाएर प्रभावित ज्येष्ठ नागरिकका लागि सुरक्षित बसोबासको व्यवस्था गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
‘हजुरहरूको छातीमा परेको त्यो असीम पीडा, रित्तोपन र आघातलाई हामीले हृदयदेखि महसुस गरेका छौं,’ उनले भनेका छन्, ‘हजुरहरूले आफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौं। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ।’

प्रधानमन्त्री शाहले भोटेकोशीको बाढीले प्रभावितहरूको ओत र जायजेथा बगाए पनि उनीहरूको स्वाभिमान, अनुभव र मार्गदर्शनको महत्त्वलाई बगाउन नसक्ने बताएका छन्। ज्येष्ठ नागरिकलाई देशको जग र मार्गदर्शकको संज्ञा दिँदै उनले मन दह्रो बनाउन तथा सरकारलाई परिवारकै सदस्य मानेर सल्लाह र मार्गनिर्देशन गर्न आग्रह गरेका छन्।

बाढीमा धेरै ज्येष्ठ नागरिकको ज्यान गएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले उनीहरूलाई घरपरिवारका मूल खम्बा, संस्कार र ज्ञानका स्रोतका रूपमा स्मरण गरेका छन्। उनले मृतकप्रति भावपूर्ण सामूहिक श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रधानमन्त्री शाहले आफन्त गुमाएर पीडामा रहेका नागरिकको आक्रोश स्वाभाविक भएको पनि बताएका छन्। एकैक्षणमा आफ्नो संसार गुमाएका मानिसको आक्रोशलाई पीडाको अभिव्यक्तिका रूपमा बुझ्नुपर्ने उनको भनाइ छ।

यस संवेदनशील घडीमा पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने वा थप पीडा दिन खोज्नेहरूप्रति सरकार निर्मम हुने चेतावनीसमेत उनले दिएका छन्।
यसैबीच, खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीहरू बाढीपछिको दलदल र खण्डहर बनेका क्षेत्रमा अझै पनि निरन्तर खोजी कार्यमा जुटिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरेका छन्।
आफ्नो ज्यान जोखिममा राखेर उद्धारमा खटिएका सुरक्षाकर्मीको आत्मबल बढाउनु सबैको कर्तव्य भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अन्त्यमा बाढी प्रभावित ज्येष्ठ नागरिकलाई सम्बोधन गर्दै भनेका छन्, ‘आदरणीय आमाबुबाहरु, हामीमाथि भरोसा राख्नुहोस्…।’ file foto

प्रतिक्रिया दिनुहोस्