सोलुखुम्बुमा बढ्दो भालु आतंक नियन्त्रण गर्न सांसद कार्कीले गराए सरकारको ध्यानाकर्षण



काठमाडौं,१८ भदौ । सोलुखुम्बुका गाउँबस्तीमा जंगली भालुको आतंक बढ्दै जाँदा स्थानीय नागरिक त्रासमा बाँच्न बाध्य भएको भन्दै नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले जोखिमयुक्त क्षेत्रमा तत्काल सुरक्षा तथा आवश्यक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बिहीबार बोल्दै सांसद कार्कीले केही दिनअघि सोलुदूधकुण्ड नगरपालिकाका ग्याल्जेन शेर्पा जंगली भालुको आक्रमणमा परी गम्भीर घाइते भएको उल्लेख गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरे। शेर्पामाथिको आक्रमण एउटा छुट्टै घटना मात्र नभई सोलुखुम्बुका विभिन्न गाउँबस्तीमा बढ्दो वन्यजन्तु आतंकको प्रतिनिधि घटना भएको उनको भनाई थियो।

सांसद कार्कीले भने-‘जंगली भालुको त्रासका कारण विद्यार्थी विद्यालय जान डराउने, किसानले आफ्नो बाली जोगाउन नसक्ने तथा स्थानीय नागरिक घरबाहिर निस्कँदा समेत ज्यानको जोखिम मोल्नुपर्ने अवस्था सिर्जना भएको छ।’

वन्यजन्तुको संरक्षण आवश्यक भए पनि नागरिकको जीवनको सुरक्षालाई बेवास्ता गरेर संरक्षणको नीति अघि बढाउन नहुने उनले बताए।
‘वन्यजन्तु पनि बचाउनुपर्छ र नागरिक पनि बचाउनुपर्छ,’उनले भने, ‘सरकारले भालुको वासस्थान र आवतजावतको वैज्ञानिक अध्ययन गरी जोखिमयुक्त क्षेत्रमा तत्काल निगरानी,सुरक्षा र आवश्यक व्यवस्थापन गर्नुपर्छ।’

संरक्षणसम्बन्धी नीति कागजमा मात्र सीमित नराखी सोलुखुम्बुको भूगोल र स्थानीय जनताको वास्तविक जीवनसँग जोडिने गरी प्रभावकारी कार्यान्वयन गर्न उनले सरकारको ध्यानाकर्षण गराए।

यसैबीच, सांसद कार्कीले केही दिनअघि रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए। उनले विपदमा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरे।

बाढीपछि सोलुखुम्बुका समेत ५१ जना नागरिक सम्पर्कविहीन रहेको उल्लेख गर्दै कार्कीले उनीहरूको खोजी तथा उद्धारका लागि तत्काल विशेष टोली परिचालन गर्न माग गरे।उनले सम्पर्कविहीन नागरिकका परिवारजन र आफन्तहरू आफ्ना सदस्यको खबरको प्रतीक्षामा आशा र पीडाका बीच समय बिताइरहेको उल्लेख गर्दै तत्काल खोजी गरी उनीहरूको वास्तविक अवस्था परिवारजनलाई जानकारी गराउन सरकारसँग जोडदार माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्