समन्वय बिना प्रभावित क्षेत्रमा राहत लिएर नजान प्रधानमन्त्रीको सचिवालयको आग्रह



काठमाडौं,१२ भदौ । बाढी प्रभावित क्षेत्रमा राहत सामग्री लिएर जाने व्यक्ति तथा समूहका कारण उद्धारमा खटिएका सरकारी टोलीलाई नै समस्या हुन थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले समन्वयबिना प्रभावित क्षेत्रमा नजान आग्रह गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै प्रधानमन्त्रीको सचिवालयले सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र राहत वितरण तथा उद्धारमा सहभागी हुन आग्रह गरेको हो ।

सचिवालयका अनुसार निजी सवारी साधनमा थोरै राहत सामग्री बोकेर प्रभावित क्षेत्रमा जाने क्रम बढ्दा सडकमा सवारी साधनको चाप अत्यधिक बढेको छ । यसले आपत्कालीन सेवाका सवारी साधनलाई समेत प्रभावित बनाएको सूचनामा उल्लेख छ ।

एम्बुलेन्सलाई बाटो खुलाउन कठिन भइरहेको र सरकारका मुख्य उद्धार टोली तथा प्राथमिकतामा रहेका राहत सामग्री बोकेका सवारीसाधनसमेत समयमै गन्तव्यमा पुग्न नसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जोखिमपूर्ण भूगोलमा आवश्यक तयारी र जानकारीबिना पुग्दा राहत वितरण गर्न जानेहरूकै सुरक्षामा समेत खतरा बढेको सचिवालयको भनाइ छ ।

प्रधानमन्त्री सचिवालयले बाढीपीडितलाई सहयोग गर्ने सबैको सद्भावको कदर गर्दै राहत तथा उद्धार अभियानलाई प्रभावकारी बनाउन राज्यका आधिकारिक संयन्त्रमार्फत सहकार्य गर्न अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्