विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गरिने



काठमाडौं,११ भदौ । विपद् व्यवस्थापन,पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका कामलाई तत्कालीन राहत र उद्धारमा मात्र सीमित नगरी दीर्घकालीन समाधान खोज्न उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने निर्णय भएको छ।

बिहीबार बसेको सर्वदलीय बैठकले विपद्पछिको पुनर्निर्माण,जलवायु अनुकूलन तथा राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार गर्न संसदीय समिति गठन गर्ने निर्णय गरेको हो।

बैठकपछि संयुक्त वक्तव्यमा सरकारका विपद् व्यवस्थापनसम्बन्धी कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न समेत उक्त संयन्त्रले भूमिका निर्वाह गर्ने निष्कर्ष निकालेको छ।

सर्वदलीय संयन्त्रले संकटका बेला मात्र नभई विपद् पूर्वतयारी तथा दिगो विकासका एजेन्डामा राष्ट्रिय सहमति निर्माण गर्दै नीतिगत सुधारमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने बैठकको निष्कर्ष छ।

विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका कार्यलाई प्रभावकारी बनाउन तत्कालीन राहतसँगै दीर्घकालीन तथा दिगो उपाय अवलम्बन गर्नुपर्नेमा सर्वदलीय बैठकले जोड दिएको छ।

यसैगरी बैठकले उद्दार,राहत,पुनर्स्थापना तथा पुनर्निर्माणमा आवश्यक मानवीय,प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ,विकास साझेदार,अन्तर्राष्ट्रिय गैरसरकारी संस्था,मित्रराष्ट्र तथा प्रवासी नेपाली समुदायलगायतलाई अपिल गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्