आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
काठमाडौं,९ भदौ । काठमाडौंको बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार बिहान करिब ९ः३० बजे बानेश्वरबाट थापागाउँ जाने सडकखण्डमा आकाशे पुलमुनि पिक आवर ड्युटीमा खटिएका प्रहरी कर्मचारीले पैदलयात्रीलाई आकाशे पुल प्रयोग गरी बाटो काट्न आग्रह गरेका थिए।
प्रहरीको आग्रहलाई अटेर गर्दै जथाभावी बाटो काट्न खोजेका जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–३१ मा बस्दै आएका २७ वर्षीय राज कठायतले उल्टै प्रहरी कर्मचारीलाई गालीगलौज तथा हातपात गरेको प्रहरीले जनाएको छ।
घटनापछि कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा विरोध गर्न नहुने तथा अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएको जनाएको छ।
कठायतलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।
प्रहरीका अनुसार घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाबारे थप अनुसन्धान अघि बढाइएको हो।

