चोरिएको स्कुटरबाट राइड सेयरिङ चलाउने व्यक्ति पक्राउ



काठमाडौं,८ भदौ । चोरिएको स्कुटरसहित राइड सेयरिङ एपका चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चोरी आरोपमा झापा दमक नगरपालिका-७का ३९ वर्षीय सरोज खनाललाई पक्राउ गरेको एसपी नरेशराज सुवेदीले जानकारी दिए।

उनलाई ट्राफिक प्रहरीले काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलबाट पक्राउ गरेको हो।उनी राइड सेयरिङ एपमा चालकको रूपमा काम गर्दै आएका थिए।

नक्सालबाट भक्तपुर दरवार स्क्वायर सम्म जाने क्रममा यात्रुले ल्यापटप रहेको झोला स्कुटरमै बिर्सेका थिए। त्यसपछि चालक सम्पर्कबिहीन भएका थिए।यात्रुले खोजीका लागि ट्राफिक प्रहरीलाई अनुरोध गरेका थिए। खोजी गर्नेक्रममा ट्राफिक प्रहरीले उनलाई नयाँ बसपार्कको होटलबाट पक्राउ गरेको हो।

उनले अर्कै व्यक्तिको आइडीमार्फत राइड सेयरिङ चलाउँदै आएको पनि खुलेको छ। उनले चलाउँदै गरेको स्कुटर पनि चोरीको भएको खुलेको एसपी सुवेदीले बताए। उक्त स्कुटर गत असार २३ गते काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट चोरी भएको थियो।

त्यसैगरी हराएर ट्राफिक प्रहरीले खोजी गर्नेक्रममा भेटाएको एक मोटरसाइकलको डिक्कीभित्र सरोज खनालको नागरिकता समेत फेला परेको थियो। यसबाट उनी मोटरसाइकल चोरी कार्यमा लामोसमय देखि संंम्लग्न हुँदै आएको र अन्य मोटरसाइकल पनि चोरी गरेको हुनसक्ने भएकोले थप अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगन्जमा पठाइएको एसपी सुवेदीले बताए।

उनीबाट फेला परेको ल्यापटप भने धनीलाई फिर्ता गरिएको छ।

प्रतिक्रिया दिनुहोस्