बागमती प्रदेश सरकारमा सहभागी तीन सांसदलाई स्पष्टीकरण पेश गर्न राप्रपाले थप्यो १२ घण्टाको समय



काठमाडौं,७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन प्रदेशसभा सदस्यलाई स्पष्टीकरण पेस गर्न थप १२ घण्टाको समय दिएको छ।

राप्रपाको केन्द्रीय अनुशासन समितिले प्रदेशसभा सदस्यहरू राजु विष्ट,राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पूर्ण सफाइको मौका दिँदै थप १२ घण्टाभित्र स्पष्टीकरण पेस गर्न समय दिएको हो।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार स्पष्टीकरण पेस गर्ने समय थप गरिएको जानकारी तीनै जना सांसदलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर र ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट पठाइएको छ।

समितिले प्राप्त हुने स्पष्टीकरणका आधारमा आवश्यक निर्णय लिने प्रवक्ता श्रेष्ठले बताएका छन्।

एमाले नेतृत्वमा बागमती प्रदेश सरकार गठन हुँदा राप्रपाका उक्त सांसदहरूले पार्टीको केन्द्रीय सहमतिबिनै सरकारलाई समर्थन गर्दै सहभागी भएका थिए। पार्टीले उनीहरूको सरकार सहभागिताबारे स्पष्टीकरण मागेको थियो।

प्रतिक्रिया दिनुहोस्