काठमाडौंमा छोराको हत्या भएको खबर सुनेपछि दाङमा आमाको मृत्यु
काठमाडौं,७ भदौ । काठमाडौंमा एक छात्रावासमा बसेर अध्ययन गरिरहेका छोराको हत्या भएको खबर सुनेपछि दाङमा आमाको पनि निधन भएको छ ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–१७ जनप्रिय टोलका वसन्त कालाथोकीको शुक्रबार काठमाडौंमा हत्या भएको थियो ।
वसन्तको काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित ‘भ्याली ब्वाइज होस्टल’भित्रै कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या भएको खबर सुनेकी उनकी आमा ३८ वर्षीया बिना कालाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर केसीले जानकारी दिए ।
‘इन्फर्मेसन दिनेले अलि मिलाएर दिनुपर्ने थियो, काखमा एउटा सानो छोरो रहेछ’, डीएसपी केसीले भने, ‘जेठा छोराको हत्याको घटना सहन नसकेर आमाको मृत्यु भएको देखिन्छ ।’
प्रहरी टोलीले कानूनी प्रक्रिया पूरा गरी मुचुल्का तयार पारेपछि शवलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
उनका श्रीमान विदेशमा रहेकाले उनी आउने बेलासम्म शव अस्पतालमा राखिने भएको छ । वडा नम्बर १७ का वडाध्यक्ष राम लौटन चौधरीले घरको जेठो सन्तानको हत्याको खबरको पीडा सहन नसकेर दु:खद् घटना हुन पुगेको बताए ।
वसन्त अध्ययनका लागि विदेश जाने गरी होस्टेलमा बसेर तयारी गरिरहेका थिए । वसन्तमाथि कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा त्यही होस्टलमा बस्दै आएका दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आक्रमणबाट गम्भीर घाइते वसन्तको अचेत अवस्थामा उद्धार गरी अस्पताल पुर्याइए पनि उपचार क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

