मुस्ताङ भ्रमण प्रधानमन्त्री शाहको निजी यात्रा : सचिवालय
काठमाडौं,५ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण उनको निजी यात्रा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्पष्ट पारेको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्रीको यो भ्रमण पूर्ण रूपमा व्यक्तिगत भएको जानकारी दिएका हुन्। उनले यस भ्रमणबारे थप विवरण आवश्यक परेमा प्रधानमन्त्रीको निजी सचिवालयसँग सम्पर्क गर्नुपर्ने बताए।
प्रधानमन्त्री बालेन्द्र शाह आज स्थलमार्ग हुँदै पोखरातर्फ प्रस्थान गरेका छन् । उनी आज अपराह्न पोखरा पुग्ने र त्यहाँबाट कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित अस्ताममा रहेको ‘अन्नपूर्ण इको भिलेज रिसोर्ट’मा बास बस्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीका लागि उक्त रिसोर्टमा यसअघि नै बुकिङ भइसकेको जनाइएको छ। पोखराबाट साढे चार किलोमिटरको दूरीमा रहेको अस्तामबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमालको दृश्य नजिकैबाट अवलोकन गर्न सकिन्छ ।

