महाधिवेशन प्रक्रिया उत्प्रेषणको आदेशद्वारा रोक्न माग गर्दै काँग्रेसको देउवा पक्षले गुहार्‍यो सर्बोच्च



काठमाडौँ,५ भदौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्नका लागि निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत गुहार्न पुगेका छन् ।

संस्थापन पक्षले एकपक्षीय रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको विरोधमा देउवाका तर्फबाट वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवण कुमार शुक्रबार सर्वोच्च पुगेका हुन् ।

निवेदनमा नेपाली कांग्रेसको महाधिवेशनसम्बन्धी हालै सार्वजनिक गरिएको प्रक्रिया र कार्यतालिका रोक्न ‘उत्प्रेषणको आदेश’ माग गरिएको नेपाली कांग्रेसको इतर समूहका प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिए । संस्थापन पक्षले भदौ २४ गतेबाट वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । कार्यतालिका एकपक्षीय रूपमा सार्वजनिक गरिएको आरोप देउवा र नेता डा। शेखर कोइराला समूहले लगाउँदै आएको छ ।

सर्वोच्च अदालतले केही समयअघि नेपाली कांग्रेसको आधिकारिकताका विषयमा पुनरावलोकनको आदेश दिएको थियो । उक्त आदेशपछि पार्टीको संस्थापन पक्षले अन्य समूहहरूसँग पर्याप्त संवाद र सहमति नगरी एकपक्षीय रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्